बागलुङमा ७ हजार ८ सयको कोरोना बिमा

0
Shares

सिर्जना पन्त, बागलुङ ।

कोरोना संक्रमण र जोखिमको भयावह बढेपश्चात् बागलुङ जिल्लाका ७ हजार ८ सय ८६ जनाले कोरोना बिमा गरेका छन् । जसमा आइतबारसम्म ३ जनाले मात्रै बिमा रकम दाबी गरेका छन् ।

बागलुङमा ३ सय ९१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये कोरोना बिमा गरेका दुई जनाले बिमा कम्पनीबाट भुक्तानी लिइसकेका छन् भने एक जनाको प्रक्रियामा छ । जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट १ लाख रुपियाँ कोरोना बिमा दाबी भुक्तानी लिइसकेको बताउनुभयो । साउन १५ गते कोरोना संक्रमण पुष्टि भएका आचार्य ४ दिनमा संक्रणममुक्त भएर घर फर्कनुभएको थियो । जैमिनी नगरपालिकाले असार पहिलो साता जनप्रतिनिधि, नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको बिमा गरेको थियो ।

कोरोनामुक्त भएपछि आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट बिमा रकमअनुसार १ लाख रुपियाँ लिइसकें ।’ –नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक महिला स्वास्थ्यकर्मीले नाम नबताउने सर्तमा भन्नुभयो । बागलुङ काठेखोलाको क्वारेन्टाइन व्यवस्थापन र सुरक्षामा खटिएका सुरक्षाकर्मीले पनि बिमा दाबी रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको बताउनुभयो । बिमा दाबी गर्ने तीनै जना बिमितले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट बिमा गराएका थिए ।

‘शुरुआती दिनमा स्थानीय तह, सहकारी संघ–संस्था, बैंक र स्वास्थ्य संस्थाहरूमा फोन गरी बिमा गर्नुस् भन्नुपर्ने अवस्था थियो’, आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका बागलुङ शाखा प्रमुख माधव सापकोटाले भन्नुभयो– ‘आजभोलि संघ–संस्था मात्र होइन, व्यक्तिगतरूपमा बिमा गर्नेहरू पनि कार्यालय खोज्दै आउन थाल्नुभएको छ ।’ कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका बिमितलाई २५ हजार र सरकारी आइसोलेसनमा बसेर सरकारी सेवा–सुविधा लिएकाहरूले भने बिमा दाबी भुक्तानी नपाउने सापकोटाले बताउनुभयो । उहाँहरू तीनै जनाले बिमा रकम भदौ २१ गतेअघि नै दाबी भक्तानी गर्नुभएकाले १ लाख पाउनुभएको सापकोटाको कथन छ ।

बिमा समितिले ‘कोरोना बिमा मापदण्ड–२०७७’ जारी गर्दा नेपाल सरकारद्वारा अनुमति प्राप्त प्रयोगशालामा गरिएको परीक्षणलाई मात्र मान्यता दिने भनिएको थियो । तर, निजी प्रयोगशालाले कोरोनाको परीक्षण गर्ने अनुमति प्राप्त गरेकाले निजी प्रयोगशालामा परीक्षण गरिएकाहरूले पनि दाबी भुक्तानी पाउने विषयमा भदौ २१ गते कोरोना बिमा मापदण्ड संशोधन उपसमिति गठन भएको छ ।

बिमा लेखअन्तर्गत १ लाख र ५० हजार गरी दुई प्रकारको बिमाङ्क कायम गरिएको छ । १ लाख बिमाङ्क कायम भएको बिमा लेखका लागि प्रतिव्यक्ति १ हजार र ५० हजारको बिमाङ्कका लागि प्रतिव्यक्ति ५ सय बिमा शुल्क कायम गरिएको छ । परिवारका सम्पूर्ण सदस्यको सामूहिक बिमा गर्दा १ लाखको बिमाङ्कका लागि प्रतिव्यक्ति ६ सय र ५० हजारको बिमाङ्कका लागि प्रतिव्यक्ति ३ सय बिमा शुल्क लाग्छ ।

बिमा गरेको १५ दिनपछि गरिएको पीसीआर परीक्षण पोजेटिभ देखिएमा बिमितले बिमा दाबी भुक्तानीको लागि निवेदन दिन पाउने कोरोना बिमा मापदण्ड–२०७७ मा उल्लेख छ ।