सिराहाको नवराजपुरमा नाचको विषयमा विवाद हुँदा प्रहरी चौकी घेराउ

0
Shares

सुभेन्द्र दास ,लहान  ।

सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर – ४ नहरनियामा राती नाच नचाएको भन्दै झाझपट्टि प्रहरीले जसपाका संजिब कुमार यादवलाई पक्राउ गरेपछि स्थानीय आन्दोलित बनेका छन् ।

सिमा प्रहरी चौकी झाझपट्टीको प्रहरी टोलीले जसपाका संजीव कुमार यादबलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय महेशपुर पतारीमा बुझाएका छन् । पक्राउ परेका यादबलाई रिहाई को माग राख्दै स्थानीयले अहिले सिमा प्रहरी चौकी झाझपट्टी घेराउ गरेका छन् । घेराउ गर्नेहरु प्रशासनको दमनविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

जनता समाजवादी पार्टी (जसपा ) का नेता एवम् जसपा नवराजपुर गाउँपालिका का अध्यक्ष शिव उदगार यादब (शिवा) ले प्रहरीले नाच नचाएको भन्दै महिला र बालबालिकालाई घरमा पसेर कुटपिट गरेको आरोप लगाए । उनले नाच कार्यक्रम नै नभएको तर प्रहरीले दमन गर्नुका साथै एक जनालाई पक्राउ गरेपछि सिमा प्रहरी चौकी घेराउ गर्न बाध्य भएको बताए ।

सजसपाकै नेताहरु जीवछ यादब, बन्सीलाल यादब, शिव उदगार यादब लगायतले पनि प्रहरी दमनको विरोध गरेका छन् । विना कारण पक्राउ गरेको भन्दै युवा संजीवलाई रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

यता, ईलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रमुख प्रहरी निरीक्षक अरबिन्द कुमार साहले निषेधाज्ञा जारी भएको बेला नाच नचाएको र त्यहाँ पुग्दा ढुङ्गामुढा गरेकाले नेता यादवलाई पक्राउ गरेको दावी गरे । उनले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको पनि बताए ।