झापा कारागारमा फैलियो कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

झापा कारागार भद्रपुरमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । शुक्रबारमा जिल्लामा १४ जना कोरोना संक्रमित थपिएसँगै कारागारमा पनि संक्रमण फैलिएको हो ।

जसमध्ये कारागारका सात कैदी बन्दी, एक भान्से र दुई प्रहरी कर्मचारीसहित १० जना, झापा गाउँपालिकाका दुई जना स्थानीय र बिर्तामोड, शिवसताक्षीका एक एक जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कारागारका आइसोलेसनमा बसेका एक कैदी बन्दीमा कोरोना पुष्टि भएसँगै स्वास्थ्यकर्मीको टोलीले असोज ६ गते कारागारका कैदी बन्दी र प्रहरी गरी १७ जनाको स्वाब सङ्कलन गरेको थियो ।

मेची अस्पतालमा गरिएको स्वाब परीक्षणमा १७ जनामध्ये एक महिला र ९ पुरुष गरी १० जनाको कोरोना पीसीआर रिपोर्ट पोजेटिभ आएको भद्रपुर नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिनुभयो । कारागारका ३४, ३६, २८, ७५, २२, ६०, ३२, ३९, २५ र ६० वर्षका कैदी बन्दी र प्रहरी रहेका छन् ।

कारागारभित्र कोरोना फैलिएपछि स्वास्थ्यकर्मीको टोलीले जाँच कार्यलाई तीव्रता दिएको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । भेटघाट बन्द राखिएको कारागारभित्र कसरी कोरोना फैलियो भन्ने विषयमा हामीले पनि अनुसन्धान गरिरहेको उहाँले बताउँनुभयो ।

संक्रमण पुष्टि भएका कैदी बन्दी र प्रहरीलाई मेची अस्पतालको कोभिड अस्पतालमा पठाइएको छ । त्यस्तै बिर्तामोड नगरपालिका ५ बस्ने ६० बर्षीया स्थानीय महिलालाई कोरोना देखिएको छ । त्यस्तै शिवसताक्षी नगरपालिका १ बस्ने ७१ वर्षीय पुरुष वृद्ध र झापा गाउँपालिका ६ बस्ने १७ र ५२ वर्षीय स्थानीय पुरुषमा कोरोना देखिएको हो ।

योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ८३६ पुगेको छ । जसमध्ये ७५७ जना उपचारपछि घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणबाट हाल सम्म जिल्लामा ६ जनाको मृत्यु भइसकेको छ ।