फरार अभियुक्त पक्रँदै प्रहरी : नक्कली ऋणी खडा गरी रकम दुरुपयोग गर्ने जेलमा

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे

तत्कालीन पुनरावेदन अदालत पाटनले कैद र जरिवाना तोकेको बैंकिङ कसूर अभियोगका फरार अभियुक्तलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । क्यापिटल मर्चेन्ट बैंकका वचतकर्ताको रकम हिनामिना गर्नेलाई प्रहरीले पक्रेको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिना नेतृत्वको टोलीले बनेपा नगरपालिका–६ निवासी ५६ वर्षीया जयन्ती केसीलाई पक्राउ गरेको छ । उनले बैंकिङ कसूरमा ११ करोड ८२ लाख ९२ हजार १ सय १६ रुपियाँ जरिवाना र ३ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको रहेको थियो । उनका श्रीमान् श्यामबहादुर खत्री यसअघि नै पक्राउ परिसकेका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले बताउनुभयो ।

बैंकिङ कसूरमा क्यापिटल मर्चेन्ट बैकको रकम हिनामिना अभियोगमा ४० भन्दा धेरैलाई कैद र जरिवाना तोकेको थियो । २०७१ साल वैशाख २९ गते भएको फैसला कार्यान्वयनका लागि प्रहरीले पटक–पटक फरार व्यक्तिहरू खोजी गरी पक्राउ गरिरहेको छ । केही व्यक्ति धरौटीमा छन् । बनेपा बुडोलका शम्भु केसीमार्फत थुप्रै व्यक्तिलाई नक्कली ऋणी खडा गरी रकम दुरुपयोग गरेको पीडितहरूले बताएका छन् ।

नक्कली ऋणी बनाएर क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको करिब ७ अर्ब ७३ करोड ५७ लाख रुपियाँ कर्जा अपचलन गरेको आरोपीहरूले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरे पनि सुनुवाइ भएको छैन ।

काभ्रेका स्थानीयले आफूहरूका नाममा नक्कली कम्पनी खडा गरी ऋण लिएर फसाएको भन्दै छानबिन आयोगको माग गरेका थिए । आयोग गठन नहुँदै बाँकी फरार अभियुक्तहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई ज्ञापनपत्रमार्फत यस्तो माग गरेका थिए । ‘केही व्यक्तिलाई भ्रममा पारेर ठगीएको छ’, पीडितले भने– ‘केही व्यक्तिको कीर्ते कागजात तयार गरेर ऋण निकालिएको छ ।’ एक दशकअघिको घटनामा प्रहरीले धमाधम ऋणी समात्न थालेपछि पीडित राष्ट्र बैंक गुहार्न पुगेका हुन् ।

फाइनान्सका तत्कालीन प्रबन्ध निर्देशक पवन कार्कीले ससुरा शम्भु केसीसँग मिलेर सिंगै गाउँलाई ऋणमा डुबाएका थिए । पवनले फाइनान्सलाई वाणिज्य बैंक बनाउने भन्दै पुँजी थप्ने र कारोबारको आकार बढाउन अरबौं ऋण प्रवाह गरेका थिए । उनले ४४ वटा कम्पनीको नाममा १ सयभन्दा धेरै मानिसको नाममा ऋण निकालेर अमेरिका भागेको पीडित बताउँछन् । कर्जा नउठेपछि राष्ट्र बैंकले फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेर ऋणीविरुद्ध मुद्दा चलाएको थियो ।

तत्कालीन पुनरावेदन अदालत पाटनले ६ महिनामै फैसला सुनाएपछि केही ऋणीले ७ वर्षको कैद भुक्तानी गरिसकेका छन् । अधिकांश ऋणी विगतमा फरार थिए । तर, पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय काभ्रेले धमाधम फरार अभियुक्त समात्न थालेपछि ऋणीको परिवार राष्ट्र बैंक गुहार्न गएको थियो ।

धेरै सम्पत्ति भएको र लामो समयदेखि समस्याग्रस्त रहेको यो कम्पनी किन्न अरू लगानीकर्ता तयार रहेका छन् । किन्ने मान्छे पैसा हाल्न तयार भइसके तर राष्ट्र बैंकले नै गाँठो फुकाउन सकेको छैन । फाइनान्समा ऋणीले ५ सय रोपनीभन्दा धेरै जमिन धितो राखेका छन् । यो जग्गा बेचेर ऋण चुक्ता गरिदिन राष्ट्र बैंकले यसअघि नै धितो मूल्यांकन गराएको थियो । त्यस बेला ४९ करोड रुपियाँ धितो मूल्यांकन भयो । कानुनअनुसार समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाको सम्पत्ति वा धितो लिलाम गर्न राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्छ ।

मूल्यांकनका आधारमा लिलामी माग्दा ५७ करोड रुपियाँको प्रस्ताव परेको राष्ट्र बैंकका अधिकारीले जानकारी दिए । सावाँ मात्रै ८० करोड रुपियाँभन्दा धेरै भएको संस्थाको धितो लिलामीबाट ५७ करोड मात्रै उठ्ने भएपछि राष्ट्र बैंकले लिलामी प्रक्रिया रोकेर पुनः धितो मूल्यांकन गर्न आदेश दिएको थियो । पुनः मूल्यांकन गर्दा ३९ करोड मात्र मूल्यांकन आएपछि राष्ट्र बैंक हच्केको थियो ।

क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई राष्ट्र बैंकले ९ माघ २०६९ मा समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो । पछिल्लो समय राष्ट्र बैंकले समस्याग्रस्त वित्तीय संस्थालाई करोबार फुकुवा गर्ने नीति लिएको छ ।