पहिरोमा पुरियो वडा कार्यालय

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा ।

अविरल वर्षासँगै आएको पहिरोमा वडा कार्यालय पुरिएको छ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–५ कुत्तसिंमा रहेको वडा कार्यालय बिहीबार पुरिएको हो ।

२ वर्षअघि मात्र गाउँपालिकाको १५ लाख लगानीमा वडा कार्यालय भवन निर्माण गरिएको थियो । पहिरोले कार्यालय भवनमा पूर्ण क्षति पु¥याएको वडा सचिव सन्ध्या न्यौपानेले बताउनुभयो । उहाँका अनुसार पहिरोले कार्यालयभित्रका सबै सामग्री पुरेको छ । मानवीय क्षति भने भएको छैन ।

बिहीबार दिउँसो वडा कार्यालयमाथिबाट पहिरो खस्दा कार्यालयको ३ कोठे भवनमा पूर्णक्षति पुगेको वडाध्यक्ष चन्द्रसिं प्रजाले बताउनुभयो ।

उहाँका अनुसार कार्यालयको तलतिरबाट पनि पहिरो गएको छ । एक्कासि कार्यालयमाथिबाट पहिरो झर्न थालेपछि कर्मचारीहरू भागेर बाहिर निस्किए पनि कार्यालयका सामानहरू भने झिक्न नभ्याइएको वडाध्यक्ष प्रजाले बताउनुभयो ।

राक्सिराङमा वर्षाका कारण एक गाउँबाट अर्को गाउँसम्म जान नसकिने स्थिति सिर्जना भएको छ । मंगलबारदेखि निरन्तर परेको झरीका कारण ठाउँ–ठाउँमा पहिरो खसेको पालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।

त्यसै गरी, मंगलबार वडा नम्बर–६ को सिलिंगेमा पहिरोले बगाएर १७ वटा बाख्रा मरेका छन् । सुकबहादुर चेपाङका १७ वटा बाख्रा जंगलमा चराएर घर ल्याउँदै गर्दा बाटोमा पहिरो गएर बगाएको हो ।

बाख्राभन्दा केही पछाडि भएकाले गोठालोलाई केही नभएको पालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो । बिहीबार दिउँसोबाट धेरै ठाउँमा पहिरो खस्न थालेको छ । पहिरोका कारण मानिसहरू आवतजावत गर्न पाएका छैनन् ।