११ करोड ८२ लाख जरिवना र ३ वर्ष कैद भुक्तान गर्न बाँकी फरार अभियुक्त पक्राउ

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

क्यापिटल मर्चेन्ट बैकका बचतकर्ताहरुको रकम हिनामिना गरेको अभियोगमा तत्कालिन पुनरावेदन अदालत पाटनले कैद र जरिवना तोकेका बैकिङ्ग कसुर अभियोगका फरार ब्यक्तिहरु पक्राउ पर्ने क्रम जारी छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिना नेतृत्वको टोलीले बैकिङ्ग कसुरमा ११ करोड ८२ लाख ९२ हजार १ सय १६ रुपैया जरिवना र ३ वर्ष कैद भुत्तान गर्न बाँकी रहेको एक अभियुक्तलाई बनेपाबाट पक्राउ गरेको छ ।

प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले फरार अभियुक्तहरु खोज्ने क्रममा ईलाका प्रहरी कार्यालय बनेपाको टोलीले बैकिङ्ग कसुर अभियोगका अभियुक्त फेला पारेको बताउनु भएको छ । प्रहरी टोलीले बनेपा नगरपालिका ६ निवासी ५६ बर्षिया जयन्ति केसी उक्त अभियोगमा पक्राउ परेकी हुन् ।

उनका श्रीमान श्यामबहादुर खत्री यस अघि नै पक्राउ परिसकेका छन् । बैकिङ्ग कसुरमा क्यापिटल मर्चेन्ट बैकको रकम हिनामिना अभियोगमा ४० भन्दा धेरैलाई कैद र जरिवना तोकिएको थियो ।

२०७१ साल बैशाख २९ गते भएको फैसला कार्यान्वयनका लागि प्रहरीले पटक पटक फरार ब्यक्तिहरुको खोजी गरी पक्राउ गरिरहेको छ । केहि ब्यक्तिहरु धरौटीमा छन् । बनेपा बुडोलका शम्भु केसी मार्फत थुप्रै ब्यक्तिहरुलाई नक्कली ऋणी खडा गरी रकम दुरुपयोग गरेको पीडितहरुले बताएका छन् ।

नक्कली ऋणी बनाएर क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको करिब ७ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ कर्जा अपचलन गरेको आरोपीहरूले उच्च स्तरीय छानबिन आयोग गठन गर्न माग गरे पनि सुनुवाई भएको छैन । काभ्रेका स्थानीयले आफूहरूका नाममा नक्कली कम्पनी खडा गरी ऋण लिएर फसाएको भन्दै छानबिन आयोगको माग गरेका थिए । आयोग गठन नहुँदै बाँकी फरार अभियुक्तहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

राष्ट्र बैंकका तत्कालिन डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीलाई ज्ञापनपत्र मार्फत यस्तो माग गरेका थिए । ‘केही व्यक्तिलाई भ्रममा पारेर ठगीएको छ’–पीीडतले भने–‘केही व्यक्तिको कीर्ते कागजात तयार गरेर ऋण निकालिएको छ।’ एक दशक अघिको घटनामा प्रहरीले धमाधम ऋणी समात्न थाले पछि पीडित राष्ट्र बैंक गुहार्न पुगेका हुन् ।

फाइनान्सका तत्कालीन प्रबन्ध निर्देशक पवन कार्कीले ससुरा शम्भु केसीसँग मिलेर सिंगै गाउँलाई ऋणमा डुबाएका थिए । पवनले फाइनान्सलाई वाणिज्य बैंक बनाउने भन्दै पुँजी थप्ने र कारोबारको आकार बढाउन अरबौं ऋण प्रवाह गरेका थिए । उनले ४४ वटा कम्पनीको नाममा एक सय जनाभन्दा धेरै मानिसको नामममा ऋण निकालेर अमेरिका भागेको पीडित बताउँछन् । कर्जा नउठेपछि राष्ट्र बैंकले फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेर ऋणी विरुद्ध मुद्दा चलाएको थियो ।

तत्कालीन पुनरावेदन अदालत पाटनले ६ महिनामै फैसला सुनाए पछि केहि ऋणीले ७ वर्षको कैद भुक्तानी गरिसकेका छन् । अधिकांश ऋणी विगतमा फरार थिए । तर पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय काभ्रेले धमाधम फरार अभियुक्त समात्न थालेपछि ऋणीको परिवार राष्ट्र बैंक गुहार्न गएको थियो ।

धेरै सम्पत्ति भएको र लामो समयदेखि समस्याग्रस्त रहेको यो कम्पनी किन्न अरु लगानीकर्ता तयार रहेका छन् । किन्ने मान्छे पैसा हाल्न तयार भइसके तर राष्ट्र बैंकले नै गाँठो फुकाउन सकेको छैन । फाइनान्समा ऋणीले ५ सय रोपनी भन्दा धेरै जमिन धितो राखेका छन् । यो जग्गा बेचेर ऋण चुक्ता गरिदिन राष्ट्र बैंकले यस अघि नै धितो मूल्यांकन गराएको थियो । त्यसबेला ४९ करोड रुपैयाँ धितो मूल्यांकन भयो ।

कानुनअनुसार समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाको सम्पत्ति वा धितो लिलाम गर्न राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्छ । मूल्यांकनका आधारमा लिलामी माग्दा ५७ करोड रुपैयाँको प्रस्ताव परेको राष्ट्र बैंकका अधिकारीले जानकारी दिए । सावाँ मात्रै ८० करोड रुपैयाँभन्दा धेरै भएको संस्थाको धितो लिलामीबाट ५७ करोड मात्रै उठ्ने भएपछि राष्ट्र बैंकले लिलामी प्रक्रिया रोकेर पुनः धितो मूल्यांकन गर्न आदेश दिएको थियो ।

पुनः मूल्यांकन गर्दा ३९ करोड मात्र मूल्यांकन आएपछि राष्ट्र बैंक हच्केको थियो । क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई राष्ट्र बैंकले ९ माघ २०६९ मा समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो । पछिल्लो समय राष्ट्र बैंकले समस्याग्रस्त वित्तीय संस्थालाई करोबार फुकुवा गर्ने नीति लिएको छ ।