नेप्सेमा सुधार


काठमाडौं, (नेस)

लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार भने सुधार आएको छ । यस दिन नेप्से ९ दशमलव ३७ अंकले बढेर १५५५ दशमलव ५२ अंकमा पुगेको छ ।

कुल १९४ वटा कम्पनीको ५८ लाख ६२ हजार कित्ता शेयर १ अर्ब ७२ करोड रुपियाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा परिसूचक बढे पनि कारोबार रकम भने एक अर्ब रुपियाँ कम हो । यस दिन कारोबारमा आएका १२ वटा समूहमध्ये ११ वटा समूहको सूचक बढेका छन् ।

तर, होटल समूहको सूचक घटेको छ । बुधबार पाँच वटा हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा अरुण भ्याली हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, युनियन हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर रहेका छन् ।

बुधबार गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । साथै तारागाउँ रिजेन्सी होटल, लक्ष्मी इक्विटी फन्ड, लक्ष्मी उन्नति कोषका लगानीकर्ताले धेरै गुमाएका छन् ।

बुधबार पनि शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै शेयर किनबेच भएको छ । यस कम्पनीको १० करोड ८५ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल बैंकको ९ करोड ५९ लाख, नेपाल पुनर्बीमा कम्पनीको ८ करोड ७३ लाख रुपियाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।