वर्षाका कारण झापाको जनजीवन प्रभावित


उत्तम नेपाल, भद्रपुर
अविरल वर्षाका कारण झापाको जनजीवन प्रभावित बनेको छ । मंगलबार रातिदेखि परेको अविरल वर्षापछि खोलामा आएको बाढीले जिल्लामा कतै घर बगाएको छ भने कतै डुबानसँगै जमिन कटान गरिरहेको छ ।
देउनियाँ खोलाले हल्दिबारी गाउँपालिका ३ स्थित देवी बस्तीमा कटानसँगै घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खोलाले दिलबहादुर राईको १४ कट्ठा जमिन कटान गर्नुका साथै भान्सा घर बगाएको हल्दिबारी–३ नम्बरका वडाध्यक्ष रोशनी शिवाकोटीले बताउनुभयो । त्यस्तै शुक्रराज योङहाङ, लक्ष्मीमाया इङ्म्बो र जनक भुजेलको घर डुबानमा परेको वडाध्यक्ष शिवाकोटीको कथन छ ।

त्यसै गरी, मेची नदीमा आएको बाढीले कचनकवल गाउँपालिका–५ पाठामारीको पिल्लर ११२ नम्बर नजिकै जमिन कटान भइरहेको छ । नदीले जमिन कटान गर्दै सीमा पिलर छेउ आइपुगेको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको र स्थानीयलाई सतर्क बस्न आग्रह गरिएको सशस्त्र प्रहरी केचनाका इन्सपेक्टर भक्तबहादुर थापा बताउनुहुन्छ ।

त्यस्तै, बिरिङ नदीमा आएको बाढीले कनकाई नगरपालिका–८ स्थित त्रिवेणी टोलमा कटान गरिरहेको छ । सो क्षेत्रमा रहेका ६ घर डुबानको जोखिम रहेको छ । नदीमा पानीको बहाव बढ्ने क्रममा रहेकाले उनीहरूलाई इलाका प्रहरी कार्यालय सुरुङाको टोलीले स्थानीय तहसँग समन्वय नगरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिनुभयो ।

त्यसै गरी, बिरिङ नदीले बाह्रदशी गाउँपालिका–७ तुलसीबारीमा जमिन कटान गरिरहेको छ । त्यहाँ बसोबास गर्ने ६ घर–परिवारलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । अहिले जिल्लाको मेची, हडिया, निन्दा, बिरिङ, कनकाई, रतुवा, अदुवालगायतको खोलामा पानीको बहाव बढिरहेकाले त्यस आसपास बसोबास गर्ने स्थानीयलाई सुरक्षित रहन झापा प्रशासनले आग्रह गरिसकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो ।