मिडिया लगानीकर्ताले खोले मिडिया एलाइन्स नेपाल, कर्णिकारको अध्यक्षतामा तदर्थ समिति


नेपाल समाचारपत्र, काठमाडौं ।

‘सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाई सञ्चार उद्यममा देखापरेका साझा समस्याको समाधान गर्ने उद्देश्यले’ मिडिया लगानीकर्ताहरुले मिडिया एलाइन्स नेपाल गठन गरेका छन् ।
राजधानीमा बुधबार मिडिया उद्यमीहरुको सभाले भाष्करराज राजकर्णिकारको अध्यक्षतामा तदर्थ समिति पनि गठन गरेको छ ।

‘सञ्चार उद्यमीहरुको हकहित संरक्षण, सञ्चार उद्यममा देखापरेका समस्याको एकीकृत समाधान गर्दै, तटस्थ, निष्पक्ष र जनउत्तरदायी सूचना समाजको निर्माणमा एलाईन्स सक्रिय रहने’ बताइएको यस समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षद्वय महेन्द्र शेरचन र राजु कँडेल, महासचिव लक्ष्मण हुमागाईं, कोषाध्यक्ष उज्ज्वल शर्मा हुनुहुन्छ । यसैगरी, सदस्यहरुमा डा. विजय पौडेल, ऋषि धमला, राजेन्द्र शाक्य, समृद्धि ज्ञवाली हुनुहुन्छ । यस्तै, सल्लाहकारमा रामेश्वर थापा र विनोद ज्ञवाली रहनुभएको छ ।

मिडिया एलाइन्सले सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउँदै सञ्चार क्षेत्रका लगानीकर्ताको हकहितको संरक्षण गर्ने, सञ्चार उद्यमलाई सेवा उद्योगको मान्यता प्राप्त गर्न पहल गर्ने, सञ्चारसम्बन्धी नीति, ऐन, कानुन निर्माणमा सञ्चार उद्यमीको हकहितको संरक्षणका साथै जनउत्तरदायी कानुन निर्माणका लागि सहयोग तथा पहल गर्ने र सञ्चार क्षेत्रलाई मर्यादित, व्यवस्थित र जनउत्तरदायी हुने कानुन तथा नीति निर्माणमा पहल गर्नेलगायतका ३० उद्देश्य तय गरेको छ ।

यसका अन्य उद्देश्यमा आम सञ्चार क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोग गरी पहुँचको आधारमा स्थानीय, प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय, स्वामित्वका आधारमा सार्वजनिक र निजी, सार्वजनिकमा सरकार नियन्त्रित वा राज्य नियन्त्रित तथा निजीतर्फ नाफामूलक र गैरनाफामूलक, विषयवस्तुका आधारमा समेत मिश्रित, समाचारमूलक र मनोरञ्जनात्मकमा वर्गीकरण गरी तिनको सञ्चालनको उपयुक्त वातावरण सृजना गर्नेतर्फ पहल गर्ने, आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, भाषाभाषी, जातजातिको उचित प्रतिनिधित्व हुनेतर्फ पहल गरी सञ्चार माध्यममा सबैको स्वामित्व कायम गराउने र प्रकाशित तथा प्रसारित सामग्रीलाई मर्यादित बनाई सभ्य समाज निर्माणमा योगदान गर्ने, आम जनतामा सञ्चार माध्यमसम्बन्धी ज्ञानलाई अभिवृद्धि गर्न सञ्चार साक्षरता अभियान सञ्चालन गर्ने, सञ्चार माध्यमहरुलाई आत्मनिर्भर बनाई लगानीको संरक्षण गर्ने तथा यस क्षेत्रमा हुने अपारदर्शी र कूल विज्ञापन बजारले धान्नेभन्दा बढी संख्यामा सञ्चार माध्यम खोल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र अपारदर्शी लगानीलाई रोकी पारदर्शी बनाउनेतर्फ पहल गर्ने, विचार र अभिव्यक्ति स्वतन्त्रताविरुद्धका सबै प्रकारका गतिविधिलाई निस्तेज गर्दै बहुलवादी, लोकतान्त्रिक समाज निर्माणमा पहल गर्ने आदि प्रमुख छन् ।

घोषणासभामा जारी विज्ञप्तिमा एलाइन्स मिडिया उद्यमीको मात्र संस्था नभई सबै पत्रकार र सञ्चार माध्यममा कार्यरत कर्मचारी तथा प्राविधिकको पनि भएको उल्लेख गर्दै सबैबाट सहयोगको अपेक्षा पनि गरिएको छ ।