त्रिविका परीक्षा छठपछि


नेपाल समाचारपत्र, काठमाडौं

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ ।
त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मंगलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

काठमाडौं, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालन गर्न थालेपछि दबाबमा परेको त्रिविले रोकिएको परीक्षा छठलगत्तै गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षार्थीलाई घर पायक परीक्षा दिन मिल्ने गरी तयारी थाल्न प्रदेश परीक्षा कार्यालयलाई निर्देशन दिएको बताउनुभयो ।

उहाँका अनुसार अनलाइन वा अन्य वैपल्पिक व्यवस्थासहित परीक्षा लिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ ।

पनिकाले परीक्षाको कार्यतालिका दशैंअघि नै थाल्ने गरी तयारीसमेत गरेको छ । करिब ३ लाख विद्यार्थी रहेको त्रिविमा चैतदेखि परीक्षा हुन सकेको छैन । सेमेस्टर प्रणालीअनुसार वैकल्पिक विधिबाट पढाए तापनि परीक्षा सञ्चालन गर्न नसक्दा हजारांै विद्यार्थी समस्यामा परेका छन् ।

त्रिविले सेमेस्टर प्रणाली र कम विद्यार्थी भएका विषयका लागि छठअघि नै परीक्षा गर्ने तयारी गरेको छ । सबै डीन कार्यालयलाई परीक्षा सञ्चालन गर्न कार्यायोजना तयार गर्नसमेत आग्रह गरिएको नियन्त्रक जोशीले बताउनुभयो ।

त्रिविले स्वास्थ्य मापदण्ड पालना गरी, भौतिक दूरी कायम गर्दै परीक्षा सञ्चालन गर्ने विषयमा मातहतका निकायलाई पत्राचार गरिसकेको छ । तर कोभिड–१९ को संक्रमण बढ्दै गए के गर्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन ।

त्रिविका रजिस्ट्रार पेशल दाहालले परीक्षा सञ्चालन गर्न डीन कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘निर्देशनअनुसार छठलगत्तै परीक्षा लिने तयारी भइरहेको छ, परिस्थितिअनुसार निर्णय हुनेछ ।’