फरार अभियुक्त पक्राउ,महिला मृत फेला

0
Shares

न्युज अफ नेपाल,पाल्पा ।

बहुबिबाह मुद्दा लागेका एक जना फरार अभियुक्तलाई पाल्पा प्रहरीले वुटवलबाट पक्राउ गर्न सफल भएको छ ।

प्रहरीले पाल्पा जिल्ला अदालतबाट बहुविवाह मुद्दामा दोषी ठहर भई फरार रहेका तिनाउ गाउँपालिका ३, दोभानका ४१ वर्षिय नारायण खरेल पक्राउ गर्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको सादा पोशाकको प्रहरीले बुटवल प्रहरीको समन्वयमा बुटवलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । बुटवलको बुद्दनगरमा लुकुछिपी बसोबास गर्दै आएका खरेललाई उनकै निवासबाट प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उनलाई पाल्पा अदालतले वहु विवाह मुद्दामा दोषी करार गरेको थियो उनको १ वर्ष ५ महिना १६ दिन कैद वाँकी रहेको वताइएको छ ।

महिला मृत अवस्थामा फेला

यसैविच पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिकामा एक महिला मृत फेला परेकी छन् । रिब्दिकोट गाउपालिका वडा नं २ धारादी बस्ने केशव लाम्टांगे मगरको श्रीमति ३२ वर्षीया पदमा लाम्टांगे घर नजिकैको सडकमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक आफ्नो घरदेखि ३०० मिटर उत्तरतर्फ सर्देवा–हार्थोक भित्रि कच्चि सडक खण्डको बिच बाटोमा मृत अवस्थामा फेला परेको र यसवारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।