भक्तपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो


पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृत्यु हुनेहरुमा अधिकांश ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिक र दीर्घ रोगीहरु रहेका छन्। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार कोरोनाका कारण मृत्यु हुनेहरु १९ जना मध्ये ६० वर्ष माथिका १५ जना छन् ।

गत बैशाख ३० गते पहिलो पटक कोरोना संक्रमण देखिएको भक्तपुरमा गत भाद्र ३ गते पहिलो मृत्यु भएको थियो। भक्तपुरमा भाद्र ३ गते सूर्यविनायक नगरपालिका –१, सिरुटारकी ७० वर्षीया महिलाको पाटन अस्पतालमा मृत्यु भएको थियो। उनी क्यान्सरका बिरामी थिइन्।

त्यसो त कोरोनाका कारण केही युवा र निरोगीको समेत मृत्यु भएको छ ।मध्यपुरथिमीनगरपालिका ८ बोडेका ३८ वर्षीय पुरुषको भाद्र २७ गते मेघा अस्पतालमा मृत्यु भएको थियो । उनी भक्तपुरमा कोरोनाबाट मृत्यु हुनेहरु मध्ये सबैभन्दा कम उमेरका हुन्। उनमा अन्य कुनै पनि प्रकारको रोग नभएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताउनुभयो ।

मिजारका अनुसार मृत्यु हुनेहरुमा अधिकांश ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिक र दीर्घ रोगीहरु र केही युवा तथा निरोगीको समेत रहेको बताउनुभयो ।

भक्तपुरमा कोरोना संक्रमणका कारण मथिनपामा सबैभन्दा धेरै मृत्यु भएको छ। मथिनपामा हालसम्म तीन महिलासहित ११ जनाको मृत्यु भइसकेको छ। त्यसपछि भक्तपुुर नपामा एक महिलासहित चार जना र सुनपामा दुई महिलासहित चार जनाले ज्यान गुमाएका छन।
जिल्लाको चार स्थानीय तह मध्ये चाँगुनारायण नगरपालिकामा भने कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

भक्तपुर जिल्लामा हालसम्म एक हजार २ सय ५० भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ