प्रदेश नं १ मा कोरोना सङ्क्रमित ११९ थप


विराटनगर। प्रदेश नं१ मा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ, सुनसरी र झापाका एक एक महिला छन् । प्रदेशमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी सोही अवधिमा प्रदेशमा ११९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् जसमा ५३ महिला र ६६ पुरुष छन् । सङ्क्रमितमा मोरङमा १०५, सुनसरीमा नौ, झापामा दुई, उदयपुर, संखुवासभा र प्रदेश बाहिरका एकएक जना छन् ।

मन्त्रालयका अनुसार विराटनगरमा पछिल्लो २४ घण्टामा ९७ जना सङक्रमित भएका छन् । सोमध्ये ४३ महिला र ५४ पुरुष छन् । प्रदेशमा हालसम्ममा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या पाँच हजार ६९३ पुगेको छ ।

अहिलेसम्ममा दुई हजार ५५२ जना कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा ९७६ जनासहित हालसम्म एक लाख १६ हजार ५५२ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।