मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा जन्मिए तिम्ल्याहा बच्चा


न्युज अफ नेपाल, भद्रपुर ।

झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा तिम्ल्याहा बच्चा जन्मिएका छन् ।

मेचीनगर नगरपालिका ९ स्थित धुलाबारी बस्ने निर्मला विष्ट (रिजाल)ले तिम्ल्याहा बच्चा जन्म दिएको अस्पताल प्रशासनले जनाएको छ । निर्मलाले दुई छोरा र एक छोरी एकै पटक जन्म दिएकी छिन् ।

शनिबार व्यथा च्यापिएपछि निर्मला लिएर उनका श्रीमान् सुरेन रिजाल मनमोहन अस्पताल पुगेका थिए । सोही अस्पतालमा भर्ना भएकी निर्मलाले आइतबार बेलुका तिम्ल्याहा बच्चा जन्म दिएको उनका श्रीमान् सुरेनले बताउँनुभयो । अस्पतालका गाइनोलोजिष्ट डाक्टर एकराज गौतम र एनेस्थेसियोलोजिस्ट डाक्टर पंकज बरालसहितको चिकित्सकको टोलीले उनको सफल शल्यक्रिया गरी बच्चा जन्माएका थिए ।

छोरी २ केजी, छोराहरू १ दशमलव ९ र १ दशमलव ६ केजी तौल रहेको जनाइएको छ । आमा र तीनै जना बच्चाको शारीरिक अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ ।