बच्चा जन्माएर पनि आमा बन्न नपाएकाहरु


सीताराम अधिकारी, धादिङ

१५ वर्षीया बालिका गर्भवती थिइन् । उनलाई काकाले जबरजस्ती करणी गरेका कारण गर्भवती भएकी रहिछन् । बालिकाको गर्भपतन गराउन अस्पताल चाहार्दै गर्दा महिला मानव अधिकारकर्मीको सहयोगमा आरोपितलाई प्रहरीले गिरफ्तार ग¥यो ।

पटकपटक जबरजस्ती करणी गरेर यस्तो कुरा अरुलाई भने मारिदिन्छु भन्ने धम्की दिएका कारण घटना लुकाएर बसेकी बालिकाले प्रहरीले उद्धार गरेको दुई दिनमै बच्चा जन्माइन् । डेढ किलोग्रामको बच्चा धादिङ अस्पतालमा सकुसल जन्मियो । काकाको गर्भ जन्मिएपछि बालिकाले आफूले बच्चाको मुख नहेर्ने, दूध नखुवाउने बताइन् । उनले आफ्नो बच्चा हेर्न नचाहे पनि आफ्नो बच्चाको बारेमा कुरा गरेको ध्यान दिएर सुन्थिन् ।

धादिङकी एक १७ वर्षीया बालिकालाई आफ्नै मामाले जबरजस्ती करणी गरे । उनको पेटमा मामाको बच्चा भएकाले समाजले बस्न नदिएपछि उनी सहारा खोज्दै सदरमुकाम धादिङबेंसी आइन् । जब उनी प्रहरीको सम्पर्कमा पुगिन् प्रहरीले आरोपितलाई गिरफ्तार गरी जबरजस्ती करणी मुद्दा चलायो । बालिकाको गर्भपतन गराउने समय बढी भएकाले उनी बच्चा जन्माउन बाध्य भइन् ।

बच्चा जन्माउँदा धेरै खुसी भएकी बालिकाले समाजको डरका कारण आफूले दूध खुवाएर राख्न नसक्ने बताइन् । महिला सुरक्षा घरमा बसेकी बालिका आफूले जन्माएको बच्चा पाल्न नपाउने र समाजले आफूलाई बाँच्न नदिने भएपछि बच्चालाई माया गरेर एकपटक छोइन् । एक टकले हेरिन् तर दूध खुवाएर आफूले राख्न सकिनन् ।

यो दुई घटना प्रतिनिधिमूलक हुन् । उनीहरु बच्चा जन्माएर पनि आमा बन्न नपाएपछि दुःखित मात्र भएनन् एउटा नमीठो पीडा लिएर बसिरहेका छन् । मानिसहरु बच्चा जन्माउँदा कति खुसी हुन्छन्, घर परिवारमा कति हर्ष उल्लास हुन्छ तर उनीहरुले बच्चा जन्माउँदा न कुनै खुसी छ बरु उल्टो उनीहरुको पीडा थपिएको छ ।

जब अविवाहित महिला वा बालिकाले जबरजस्ती करणीबाट बच्चा जन्मने अवस्था आउँछ तब उनीहरुलाई समाजले घृणा गर्छ । समाजमा बस्न दिँदैनन् । घरमा समेत बस्ने अवस्था हुँदैन । घरनिकाला भएपछि महिला तथा बालिकाहरु सहाराविहीन हुन्छन् ।

‘समाजले बलात्कार गर्नेलाई भन्दा बलात्कृत हुनेलाई तिरस्कार गरिरहेको छ । बलात्कृत हुँदाको पीडाभन्दा समाज र परिवारले गर्ने घृणा र तिरस्कारले बालिकाहरुलाई झन् धेरै पीडित बनाएको छ’, मानव अधिकारकर्मी राधिका सापकोटा भन्नुहुन्छ– ‘यस्ता बालिकाहरुका लागि उनीहरुको पढाइ, पालनपोषण र सुरक्षाका लागि को जिम्मेवार हुने? उनीहरुको न्याय पीडकलाई थुन्नु मात्रै हैन, तर हामीले न्याय भनेकै पीडकलाई सजाय दिनुलाई मात्रै मानेका छौं पीडित केन्द्रित न्याय प्रणाली नै छैन ।’

बच्चा पाएर पनि आमा बन्न नपाएकाका कारण दुःखमा पिल्सिनुपरेकाले उनीहरुका लागि सरकारले विशेष कार्यक्रम ल्याएर भविष्यको जीवन सुखमय बनाउन काम गर्ने वातावरण दिनुपर्ने महिला अधिकारकर्मी गायत्री खतिवडाले बताउनुभयो ।
बालिका र महिलामाथि हुने हिंसाका घटना बढिरहेको धादिङमा आफूले गल्ती नगर्दा पनि समस्या भोग्नुपर्ने बाध्यतामा छन् ।

जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७६÷७७ मा जबरजस्ती करणीका २३ घटना, हाडनाता करणीका २ घटना, जबरजस्तीकरणी उद्योगका १३ घटना, बालयौन दुरुपयोगका २ ओटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक जयन्ती थापाले बताउनुभएको छ ।

जिल्लामा सहयात्री समाज नामक गैरसरकारी संस्थाले सञ्चालन गरेको महिला सुरक्षा आवासगृहमा बन्दाबन्दीको अवस्थामा हरेक दिन १० जनाभन्दा बढीलाई राख्ने गरिएको छ ।

पीडित पक्षीय न्याय प्रणाली नभए पनि अहिले समस्यामा परेका महिलाहरुका लागि एकद्वार संकट व्यवस्थापन केन्द्रबाट महिलामाथि हुने सबै किसिमका हिंसामा परेकाहरुको उपचार, कानुनी सहयोगलगायतका विषयहरु एकैस्थानबाट हुँदै आएपछि केही हदसम्म सहयोग पुगेको छ ।