कोरोनाले अर्थतन्त्र र विकासको अभियानमा धक्का : प्रधानमन्त्री


नेपाल समाचारपत्र, काठमाडौं

कोरोनाको त्रासकैबीच छैटाैं संविधान दिवस टुँडिखेलमा औपचारिक कार्यक्रम गरेर मनाइएको छ । सरकारले संविधान जारी भएको ऐतिहासिक दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ ।

संविधान दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक जीवनलाई अस्तव्यस्त पार्ने र देखिने गरी उचाइ लिन लागेको कोरानाले देशको अर्थतन्त्र र विकासको अभियानलाई गम्भीर धक्का दिएको बताउनुभयो । कोरोना महामारी रोकथामका लागि पहिलोपटक लकडाउन गरिएदेखि अहिलेसम्मै जनजीवन सामान्य हुन नसकेको बताउँदै उहाँले महामारीबाट धेरै नेपालीको जीवन गुमेकोप्रति दुःख व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘प्रकृतिको नियम हो, कस्तै महामारी र विपत्तिमा पनि समय रोकिँदैन । ऋतु फेरिन्छन् । जतिसुकै पीडा वा छटपटी रहे पनि मानिसहरु जीवनलाई निरन्तरता दिन्छन् । गौरवगाथा गाउने दिन गाउँछन््, स्मरण गर्नुपर्नेहरुलाई श्रद्धापूर्वक सम्झिन्छन् । प्रतिबद्धतालाई निरन्तरता दिन्छन्, बाँकी रहेको जिम्मेवारी पूरा गर्ने प्रण गर्छन् । महामारी र विपत्तिबीच हामी यिनै शोक र संकल्पहरुबीच यस वर्षको राष्ट्रिय दिवसमा सहभागी भएका छौं ।’

सरकारले महामारीलाई चुनौतीका रुपमा मात्रै होइन, अवसरका रुपमा समेत उपयोग गर्ने गरी चालू आर्थिक वर्षको बजेटमार्फत मुलुकभर स्वास्थ्य पूर्वाधार खडा गर्ने योजना कार्यान्वयनमा ल्याएको बताउँदै उहाँले भन्नुभयो– ‘डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका अहिलेसम्मको कामका तस्वीर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छन् ।’

यदि कोरोना महामारी हुँदैनथ्यो भने आज गत वर्ष कबुल गरिएका कतिपय काम सम्पन्न भएको विवरणको चर्चा हुने अवस्था आउने बताउँदै प्रधानमन्त्री ओलीले केही राष्ट्रिय गौरवका आयोजनाहरु उद्घाटन हुने विश्वास व्यक्त गर्नुभयो ।
विगत तीन वर्षदेखि अर्थतन्त्रले उच्च आर्थिक वृद्धिदरको लय समातेको तर दुःखको कुरा अहिले कोभिड–१९ का कारणले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको बताउँदै उहाँले यस प्रतिकूल अवस्थाको छिट्टै अन्त्य गर्ने र परिस्थितिलाई अनुकूल बनाउने बताउनुभयो ।

‘झन्डै ६ महिना अवरुद्ध आर्थिक क्रियाकलापका बाबजुद आर्थिक वृद्धिदरबाहेकका परिसूचकहरु सकारात्मक नै रहनु सुखद पक्ष होे, कोभिडको महामारीपछि विश्वका धेरै मुलुकमा आर्थिक वृद्धिदर नकारात्मक हँुदा पनि हाम्रो आर्थिक वृद्धिदर सकारात्मक नै रहेको छ।’ –उहाँले भन्नुभयो ।

‘यो सरकार र सत्तारूढ दलको लोकतन्त्रप्रतिको निष्ठाका बारेमा गरिने आशंका वा भ्रम सिर्जना गर्ने प्रयासबाट विस्मित हुने गरको छु । मैले भन्दै आएको छु, लोकतन्त्रमा असहमत स्वरहरुले स्थान पाउँछन्, पाउनुपर्छ । तर हल्लाबाट प्रभावित हुने र जता हावा बग्छ त्यतै बरालिने परिपाटी लोकतन्त्र होइन । लोकतन्त्र, निरङ्कुशतन्त्रको विकल्प हो र यो विधिको शासन हो । यो मर्यादित र अनुशासित प्रणाली हो।’ –उहाँले भन्नुभयो ।

राष्ट्रले निर्णय लिँदा त्यहाँ अलमल होइन, प्रतिबद्धता हुन्छ भन्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले लिएको ऐतिहासिक निर्णय हो । अब यसलाई इमानदारीपूर्वक सबल बनाउन लाग्नु सबै नेपालीको कर्तव्य भएकोमा जोड दिनुभयो ।

‘हाम्रो संविधान सबै अट्ने गतिशील दस्तावेज हो । यसैलाई मियो मानी सबै दल÷समूहहरु राष्ट्रिय मूलधारमा सामेल भई सिर्जनशील र रचनात्मक ढंगले क्रियाशील होऔं’, उहाँले भन्नुभयो– ‘आशंका वा अस्पष्टताहरु छन् भने संवादको माध्यमबाट तिनलाई हटाउन सरकार सदैव तयार रहेको कुरा म पुनः स्पष्ट गर्न चाहन्छु ।’

‘भइहाल्छ नि’ वा ‘गरिहाल्लान् नि’ भन्ने सुविधा आफ्नो नेतृत्वको सरकारलाई नरहेको बताउँदै प्रधानमन्त्रीले प्रतिबद्धतालाई परिणतिमा बदल्न ‘तीव्र गति र शीघ्र विकास’को जनआकांक्षा पूरा गर्नका लागि गर्ने कुरालाई हेक्कामा राखेको बताउनुभयो ।