महामारीको संवेदनशील अवस्थामा भिडभाड गरी प्रदर्शन नगरिदिन घिसिङको आग्रह

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति ध्यानाकर्षण भएको बताएका छन ।

आफू कार्यकारी निर्देशक नियुक्त हुँदा सबै जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको बताउँदै घिसिङले निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने जनाएका छन् ।

यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ का कारण नेपाल पनि आक्रान्त भएकोबेला आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिन घिसिङल अनुरोध गरेका छन् ।

प्रेस विज्ञप्ति

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको वेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।

कुलमान घिसिङ
निवर्तमान कार्यकारी निर्देशक

नेपाल विद्युत प्राधिकरण
२०७७/०६/०३ शनिबार
काठमाडौं ।