कोभिड अस्पतालमा परिवर्तन हुँदै आइसोलेसन


न्युज अफ नेपाल, हेटौंडा ।

मनहरी गाउँपालिकाले ८ नम्बर वडा कार्यालयमा सञ्चालनमा ल्याएको आइसोलेसन वार्डलाई कोभिड अस्पताल बनाउने भएको छ ।

गाउँस्तरीय विपद् व्यबस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । कोभिड–१९ संक्रमणमा परेर कतिपय अस्पतालमा उपचार नपाएर संक्रमितको मृत्यु हुने गरेका घटनालाई मध्यनजर गरी चिकित्सकीय सेवासहित अन्य उपकरणहरु खरिद गरी पालिकाले कोभिड अस्पताल चलाउन लागेको हो । यसको आन्तरिक तयारी सुरु गरिएको पालिका स्वास्थ्य संयोजक टीकाराम अधिकारीले जानकारी दिनुभयो ।

मनहरी–७ स्थित श्री आधारभुत विद्यालयमा सञ्चालनमा ल्याइएको क्वारेन्टाइनलाई आइसोलेसन बनाइने भएको छ । संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले होम आइसोलेसनलाई प्राथमिकतामा राखिएको छ ।

समितिले वडा–८ मा एकै वडामा २२ जनामा संक्रमण देखिएपछि टोललाई सिल गर्ने निर्णय गरेको वडाध्यक्ष दिलबहादुर स्यांतानले जानकारी दिनुभयो । आइसोलेसन भरिएपछि अधिकांश संक्रमितलाई होम आइसोलेसनमा राखिएको छ । मनहरी–९, रजैया बजार सिल गरिएको छ । वडास्तरीय विपद् व्यबस्थापन समितिको निर्णयले रजैया बजार सिल गरेको हो ।

कालिका सामुदायिक बन उपभोक्ता समूहको चौधमाइल क्षेत्रमा पर्ने कालिका झरनापरिसर पनि सिल भएको छ । लकडाउन र निषेधाज्ञाको समेत अवज्ञा गरी मनहरी गाउँपालिका–९ स्थित ज्यामिरे कालिका सामुदायिक बन उपभोक्ता समूहको क्षेत्रमा पर्ने कालिका झरनामा घुम्न जानेको संख्या अधिक रहेको थियो । अब त्यहाँ भिड गर्न त के, जानै नपाइने भएको छ ।

पूर्वपश्चिम राजमार्गको चौधमाइलमा पर्ने कालिका झरना हेर्दै आकर्षक र गर्मी महिनामा पौडी खेल्न गज्जबको गन्तव्य भए पनि दिनानुदिन भिड गर्ने बानीले कोभिड–१९ संक्रमणको उत्तिकै जोखिमयुक्त क्षेत्रको रुपमा रहेको थियो ।

समूहले सूचना जारी गरेर झरनामा जान रोक लगाए पनि दिनानुदिन मानिसको संख्या बढ्न थालेपछि पालिका ९ नम्बर वडास्तरीय विपद् व्यबस्थापन समितिले कालिका झरना घुम्न र पौडी खेल्न जान नपाउने गरी सिल गरेको छ ।

सिल गरिएपछि कोही पनि उक्त क्षेत्रमा जान नपाइने र गए कारबाही प्रक्रिया अघि बढाइने समिति संयोजक एवम् वडाध्यक्ष साधुराम अधिकारीले बताउनुभयो । समूहले समेत पटकपटक भिड घटाउन पहल गरे पनि अटेर गरेर घुम्न जानेको संख्या बढेकाले वडा कार्यालयलाई समेत अनुरोध गरी सिल गर्न बाध्य भएको समूह अध्यक्ष दीपक पुलामीले जानकारी दिनुभयो । अर्को सूचना जारी नभएसम्मका लागि सिल कायम रहनेछ ।