संविधानको मौलिकतामा खलल पुग्नेगरि संशोधन गर्दै देशलाई प्रयोगशाला नबनाऔं : नेता पौडेल

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको संविधान २०७२ ले मुलुकको राजनीतिक प्रणालीको टुंगो लगाएकाले यसको मौलिकाता र संरचनामा खलल पुग्नेगरि संसोधन गर्न नहुने बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले प्रणालीगत, संरचनागत र कानूनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकता अनुसार संशोधन गर्न सकिने बताए लगतै कांग्रेस वरिष्ठ नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् । पाँचौ संविधान दिवसका अवसरमा शुभकामना दिदै वरिष्ठ नेता पौडेलले संविधानको मौलिकता र संरचनामा खलल पुग्नेगरि संशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो मात्र बनाउने अधिकार कसैलाई नभएको बताएका छन् ।

उनले नेपाली जनताले लामो संघर्षपछि र धेरै दुःख मेहनत गरेर नेपालको वर्तमान संविधानको बनेको उल्लेख गर्दै संविधानले नेपालका सवै जातजाती, भाषाभाषी संस्कृतिहरुको भावनालाई समेत संगेटेर लगभग सत्तरी वर्ष पछि आएर देशमा राजनीतिक प्रणालीको टुङ्गो लगाएको बताए ।

पौडेलले नितान्त लोकतान्त्रिक मान्यतामा आधारित भएर बनेको बर्तमान संविधानलाई कार्यान्वयनमा ल्याएर जनतालाई न्याय र समृद्धि दिनु हामी सबैको साझा कर्तव्य भएको उल्लेख गरेका छन् । उनले संविधान निर्माणकै क्रममा रहेको केही सामान्य गुनासाहरुको संवोधन हामी सबैको सहमतिमा गर्न सकिने बताए । तर प्रणालीगत हिसाबले र संरचनात्मक हिसाबले संविधानको मौलिकतामा खलल पुर्याउने गरी सशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो मात्र बनाईराख्नु नत राष्ट्र हितमा छ, नत त्यस्तो अधिकार कसैलाई भएको पौडेलको भनाई छ ।