म्याग्दी संक्रमितमुक्त जिल्ला


म्याग्दी, (नेस)

हिमाली जिल्ला म्याग्दी सक्रिय कोरोना बिरामीमुक्त जिल्ला बनेको छ । बेनीको आइसोलेसन अस्पतालमा उपचाररत एकमात्र बिरामीको रिपार्ट नेगेटिभ आएसँगै संक्रमितमुक्त जिल्ला बनेको हो ।

१९ वर्षीय युवाको स्वाबको नतिजा नेगेटिभ आएसँगै जिल्ला कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

१९ वर्षीय युवासहित १७ जनाको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा बुधबार गरिएको परीक्षणमा नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

संक्रमित युवा गत भदौ १ गते पोखराबाट तालिम सकेर जिल्ला प्रहरी कार्यालय म्याग्दीको कार्यक्षेत्रमा खटिन आएको थिए । कार्यक्षेत्रमा स्वाब लिई गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको थियो ।