असोज मसान्तभित्र स्थिर ब्याजदर कायम गर्नुपर्ने


नेपाल समाचारपत्र, काठमाडौं

नेपाल राष्ट्र बैंकले असोज मसान्तभित्र स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले बुधबार परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई सो निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाको ब्याजदर परिवर्तन नहुने गरी बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदर कायम गर्नुपर्ने भएको छ । यस व्यवस्थाले व्यक्तिको नाममा प्रवाह भएको घर कर्जा, गाडी कर्जालगायतका मासिक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुनेछ ।

‘गत भदौ २८ गते बैंक तथा वित्तीय संस्थाका निम्ति जारी गरेको एकीकृत निर्देशिका २०७७ को ई प्रा. निर्देशन नं. १५÷०७७ को बुँदा ३ को उपबुँदा १४ को व्यवस्थाअनुसार कर्जा अवधिभर परिवर्तन नहुने गरी तोकिएको स्थिर ब्याजदर सोही निर्देशनको बुँदा ३ को उपबुँदा ३ बमोजिम पहिलोपटकका लागि असोज मसान्तभित्र निर्धारण तथा प्रकाशन गर्नुपर्ने ।’ नेपाल राष्ट्र बैंकको निर्देशकामा भनिएको छ ।

आगामी कार्तिक महिनाबाट लागू हुने स्थिर ब्याजदरबाट कर्जाको ब्याजदर बढिरहने समस्या समाधान हुने भएको छ । विगतमा कर्जा लिँदा एउटा ब्याजदर हुने र पछि बढ्दै जाँदा ऋणी समस्यामा पर्ने गरेको गुनासो थियो । नयाँ व्यवस्थापछि ऋणलाई सहुलियत हुने विश्वास केन्द्रीय बैंकको छ ।

बैंक तथा वित्तीय संस्थाले एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्ने छ । तर, ग्राहक स्वयम्ले बैंक तथा वित्तीय संस्थाको आधारदर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा भने ब्याजदर परिवर्तन हुन सक्नेछ ।

यस्तो हुँदा ब्याजदर तलमाथि हुन्छ अर्थात परिवर्तन हुने रोजेमा कहिलेकाहीँ स्थिर ब्याजदरभन्दा सस्तो पर्ने र कहिले धेरै महँगो हुने गर्छ । तर, स्थिर ब्याजदर भएपछि ऋणीले आफ्नो निश्चित किस्ता तिर्नसक्ने छ । जहाँ घटबढ हुने छैन ।