स्वास्थ्यकर्मीहरुको गिर्दो मनोबल



नगेन्द्रराज पौडेल

यति बेला हाम्रो मुलुक कोरोना कहरबाट नराम्रोसँग थिलथिलो भएको छ । यहाँ ५६ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमित देखिएको छ भने यसैका कारण ३७० जनाभन्दा बढीको मृत्यु नै भैसकेको छ । अप्रत्यासितरुपमा विश्वभर फैलिएर यसले आतंक मात्र सिर्जना गरेन, आममानिसको दैनिकीमा समेत उल्टो प्रभाव पा¥यो । विशेषज्ञहरुले यो स्थिति क्रमशः बढ्दै जाने सम्भावना औंल्याएका छन् । यसै कारण उनीहरु सर्वसाधारणलाई सामाजिक दूरी कायम राख्न, मास्क अनिवार्य लगाउन र साबुन–पानीले हात धोइरहन सुझाएका छन् । विशेषज्ञले सुझाएका नियमहरु पनि कतिपय अवस्थामा पालना गरिएको पाइँदैन । यसले गर्दा थप जोखिम र सन्त्रास बढदै गएको पाइन्छ । लकडाउनको अवस्थामा पनि संक्रमितहरुको संख्या ह्वात्तै बढ्नु यसैको उदाहरण हो ।

विद्यमान अवस्थासँग यतिखेर मुलुकका चिकित्सक, प्रहरी, सेना अग्रपङ्तिमा जुधेका छन् । स्थानीय पालिकाहरुको व्यवस्थापन पनि सराहनीय देखिएको छ । शीर्षस्थानमा त चिकित्सकहरु नै जुधिरहेका छन् । आरम्भमा त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) विना पनि चिकित्सकहरु उपचारमा खटी नै रहे । उनीहरुले साँझ–बिहान भनेनन् । आफ्नो र पराइ चिनेनन् । फलस्वरुप आज चिकित्सकलगायत ५ सयजनाभन्दा बढी स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएको छ । नागरिकको सेवा गर्दा र राज्यबाट सुम्पिएको दायित्व निर्वाह गर्दा उनीहरु संक्रमित भएका हुन् ।

अग्रपङ्तिमा खटिएर काम गर्ने निजी अस्पतालतर्फका चिकित्सकहरुको सूची अझ अलग्गै छ । कतिपय निजी अस्पतालले त आजसम्म पनि गुणस्तरीय पीपीई पनि नदिईकन चिकित्सकहरुलाई बिरामीको उपचारमा खटाइरहेका छन् । चिकित्सकहरुले पनि आफ्नो धर्म सम्झी नाइँनास्ती गर्न सकेका छैनन् । सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब ९० हजार जनशक्ति पनि कोरोना महामारीसँग जुध्दै छन् । यसबीचमा ८ सयभन्दा बढी नेपाल प्रहरी, ४ सयभन्दा बढी सशस्त्र प्रहरी र ३ सयभन्दा बढी सैनिक आफैं कोरोना संक्रमित भैसकेको समाचार छ । यो हाम्रा लागि अत्यन्त दुुःखद अवस्था हो ।

रोगले आक्रमण गरेमा डाक्टरले बचाउँछन् भन्ने आमजनमानसमा आशा थियो र अझै छ पनि । तर तिनै डाक्टरहरुमा पनि कोरोना सल्किएपछि अब डाक्डरको भर पर्ने आशाको त्यान्द्रो नै चुँडिएजस्तो अनुभूति आममानिसले गर्दै छन् । गायक अरुणा लामाले ‘यसपालि त मनै फाट्यो के ले सिउने केले टाल्ने हो’ भनेर गाएकी थिइन् । आज बिरामीहरुका लागि डाक्टर छन् भन्ने भरोसा थियो, अब उनीहरु नै बिरामी भएपछि कसलाई भरोसा गर्ने, कहाँ जाने ?

आममानिस प्रश्न गर्छन् । निरासाका स्वरहरु व्यक्त गर्छन् उनीहरु । यी घटनाले वीरबलको खिचडी कथाको झझल्को गराउँछ । अग्लो बाँसको टुप्पोमा बसालेको कसौंडीको खिचडी पनि फेदमा बलेको मसिनो आगोले पाक्ला नि भन्दै वीरबल आशावादी थिए भन्ने कथामा पढिएजस्तै कम्तीमा पनि डाक्टर छन्, बचाउँछन् भन्ने आशा भए पनि त्यो आशा क्रमशः हराउँदै गएको छ । यस अवस्थामा सम्बन्धित पक्षले चिकित्सकको मनोबल बढाउने उपाय अवलम्बन गर्नै पर्छ ।

जोखिम भत्ता दिन ढिलाइ ः
सरकारले कोरोना संक्रमितको उपचार गर्ने, प्रयोगशालामा कार्य गर्ने, बिरामी ओसारपसार गर्ने, सुरक्षा व्यवस्थापन एवं प्रतिकार्य योजना लागू गर्न खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई गत चैत ११ गतेदेखि नै जोखिम भत्ता दिने निर्णय गरेको थियो । तर ६ महिना बित्दा पनि अग्रपंक्तिमा खटिएर कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा सम्लग्न दशौं हजार चिकित्सकसहित अन्यले आजपर्यन्त त्यस्तो भत्ता पाएका छैनन् भन्ने गुनासा सुनिदै आएका छन् ।

कर्मचारीलाई मौद्रिक र गैरमौद्रिक गरी दुवै तरिकाले प्रोत्साहन गर्न सकिन्छ । यहाँनेर सरकारले मौद्रिक तरिकाले प्रोत्साहनको नीति घोषणा गरिसकेको हो । अर्थमन्त्रीले बजेट वक्तव्यमा समेत यही कुरा उल्लेख गरेका हुन् । गत जेठ १५ गते जारी सार्वजनिक बजेट वक्तव्यको बुँदा नम्बर ३१ मा भनिएको छ, ‘चिकित्सक, स्वास्थ्यकर्मी तथा प्रयोगशालामा काम गर्ने कर्मचारीका लागि व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्थासहित सेवामा उत्प्रेरित गर्न प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।
कोरोनालगायत अन्य संक्रामक रोगविरुद्ध कार्यरत सबै स्वास्थ्यकर्मीलाई ५ लाखसम्मको स्वास्थ्य बिमा गर्ने व्यवस्था गरिएको छ ।’

आज चिकित्सकलगायत जोखिम मोलेर काम गर्नेहरुका हकमा उक्त नीति कार्यान्वयन हुन जरुरी छ । यही यथार्थलाई ख्याल गर्दै सरकारले घोषणा गरिसकेको जोखिम भत्ता उपलब्ध गराउन अब ढिलाइ गर्नुहुँदैन । घोषित भत्तासमेत नपाउँदा अग्रपंक्तिमा खटिएकाहरूको मनोबल गिर्न थालिसकेको छ, जुन चिन्ताको विषय हो । जोखिम भत्तालगायतको सुविधा माग गर्दै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी त आन्दोलनमै उत्रिएका छन् । उनीहरुको मनोविज्ञान उच्च राख्न पनि सो आन्दोलनको यथोचित सम्बोधन गरिनुपर्छ । यसरी स्वास्थ्यकर्मीले आन्दोलन नै गर्नुपर्ने अवस्था आउन दिनुहुँदैन । यसबारेमा ध्यान पु¥याइएन भने अन्यत्रबाट पनि विरोधका स्वरहरु नआऊलान् भन्न सकिँदैन ।

सरकारले ‘कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापनसम्बन्धी आदेश–२०७७’ जारी गरिसकेको छ । कामको प्रकृति हेरी यसरी खटिने, चिकित्सकलगायत् अन्य वर्गलाई जोखिमको प्रकृतिअनुसार दैनिक ३ सय रुपियाँदेखि तलबको शतप्रतिशतसम्म भत्ता दिने व्यवस्था छ । आर्थिक व्यवस्थापन, जोखिम भत्ता पाउने व्यक्तिको संख्या रुजु र कहिलेसम्मको कहिले दिने भन्ने निर्णय हुन बाँकी भएकाले ढिलाइ भएको अर्थ मन्त्रालयले जनाएको छ ।

०७६ चैत ११ गतेदेखिकै भत्ता पाउने गरी गरिएको व्यवस्था कार्यान्वयनमा ढिलाइ हुँदा उक्त काममा आफ्नो शरीरसमेत जोखिममा राख्दै खटेका जनशक्तिहरुमा भने प्रेरणा र हौसला मिल्न सकेको छैन । बोकेको कुकुरले मृग मार्दैन भनेझैँ आत्मैदेखि उत्प्रेरित नभएसम्म कसैले पनि गुणस्तरीयरुपमा कार्यसम्पादन गर्न सक्दैन भन्ने कुरा पनि बुझ्न आवश्यक छ । कर्मचारीलाई दिऊँला भनेर होइन, दिएर नै उत्प्रेरित गर्नुपर्छ भन्ने आममान्यता नै हो । यसको कार्यान्वयन हुन जरुरी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार यति बेला चिकित्सकहरुले खाना–खाजासमेत बेलैमा खान पाएका छैनन् । दिसा–पिसाबसमेत डाइपरमा गरी काममा जुटेका छन् । यसरी खटिने चिकित्सकहरुलाई सम्मान र प्रोत्साहन आजको पहिलो आवश्यकता हो । तर राज्यस्तरबाट उनीहरुका समस्या सम्बोधन गरी आत्मबल बढाउन ढिलाइ भैरहेको छ । यसरी ढिलाइ गरिनु कामयावी हुँदैन ।

गलत मनोविज्ञान ः
आज चिकित्सकहरुप्रतिको मनोविज्ञान पनि नकारात्मक देखिन्छ । यो कुनै पनि हालतमा उपयुक्त होइन । जो आमनागरिकको उपचारमा अहोरात्र खट्छ, महामारीसँग रातोदिन भिड्छ, उही वर्ग नागरिकबाट उपेक्षित हुनु अचम्म लाग्दो कुरा हो । नागरिकहरुले चिकित्सकीय महत्व बुझ्नै पर्छ । उपचारका सन्दर्भमा एउटा चिकित्सकसँग न घर हुन्छ, न परिवार । न आफन्त हुन्छ, न पराइ । सबै बिर्सेर ऊ बिरामीको उपचारमा लाग्छ । बिरामीलाई कसरी निको हुन्छ भन्ने एकमात्र अभीष्ट नै उसको रहन्छ । तर त्यही चिकित्सकउपर जाइलाग्ने आमप्रवृत्ति भने प्रत्युत्पादक नै देखिन्छ र आत्मघाती पनि ।

केही हप्ताअगाडि चिकित्सकहरुमा कोरोना संक्रमण देखिएसँगै स्थानीयवासीले कोरोना फैलाउने आशंकामा काठमाडौंको बानेश्वरस्थित चिकित्सक निवासमा गएर उनीहरुलाई आवासबाट निकाल्न घर घेराउ गरेका थिए । यस कार्यमा स्थानीय जनप्रतिनिधिसमेतको संलग्नता भएको खबरले झनै आश्चर्य बनाएको छ । बानेश्वरको चिकित्सक निवासको घटनाबाहेक चितवनस्थित एक कोरोना संक्रमित चिकित्सकको निवासबाहिर कोरोना संक्रमित लेखिएको ब्यानर टाँस गरेको घटना पनि चर्चामा आएको थियो । यस्ता क्रियाकलापले कोरोना महामारीसँग अग्रपंक्तिमा जुधेका देवतातुल्य चिकित्सकहरुको मन कुँढिएको छ, आत्मबल घटेको छ । उत्प्रेरणा दिनुपर्ने ठाउँमा अवहेलना गरेर उनीहरुको तेजोवध गर्न खोज्नु कुनै पनि हालतमा राम्रो होइन ।

चिकित्सकमाथि भएका उक्त प्रवृत्तिविरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाहीका लागि गृहमार्फत स्थानीय प्रशासनलाई लेखी पठाएको जानकारी मन्त्रालयका प्रवक्ता गौतमले बताए पनि आजसम्म कसैलाई कारबाही भने भएको सुनिएको छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले ‘चिकित्सकउपर आक्रमण गर्नेलाई पाता फर्काइनेछ’ भनेका छन् तर यथार्थमा कसैको पाता फर्काएको समाचार आजसम्म सार्वजनिक भएको छैन । चिकित्सकउपर अभद्र व्यवहार गर्नेहरु दण्डित भए मात्र आमचिकित्सकको मनोबल बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्