स्थान अभावले फोहोर व्यवस्थानमा समस्या

जुनसुकै बेला रोकिन सक्ने चेतावनी


ईश्वरराज ढकाल, काठमाडौं

ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइट भरिएको दुई वर्ष नाघिसकेको छ । अहिलेसम्म अन्तरकुन्तर खोजेर उपत्यकाका दुई महानगरपालिकासहित १८ स्थानीय निकायको फोहोर व्यवस्थापन भइरहेको छ ।

यस्तो समस्या आउँदा पनि गत चैतदेखि फोहोर विसर्जन गर्ने तयारी भएको बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन हुन सकेको छैन । शहरी विकास तथा भवन निर्माण विभागले ल्यान्डफिल साइट निर्माण गर्न नसक्दा उपत्यकाको फोहोर व्यवस्थापनमा जुनसुकै बेला समस्या आउने गरेको छ ।

अबको समस्या स्थानीय जनताको कारणले होइन, शहरी विकास तथा भवन निर्माण विभागकै कारण हुने भएको छ । ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्ने स्थान नभएको कारण समस्या पर्न लागेको हो । पछिल्लो समय ठेकेदारले बन्चरेडाँडामा संरचना निर्माण गर्न लागेको झन्डै दुई वर्ष पुग्न थालिसकेको छ ।

तैपनि काम हुन सकेको छैन । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले चैतदेखि नै फोहोर व्यवस्थापन गर्न सकिने जनाउँदै आएको थियो ।

‘अति नै भयो विभिन्न कारण देखाउँदै विगत चार महिनादेखि काम भएको छैन, स्थानीयले कामपालाई दोष देखाउँछन्, विभागले वास्तै गर्दैन, यसको कारण समस्या थपिएको छ।’ –कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले भन्नुभयो । १८ स्थानीय निकायले सिसडोलमा फोहोर व्यवस्थापन गरे पनि मुख्य दायित्व भने कामपाको छ ।

‘तोकिएको समयमा काम सक्न पटकपटक आग्रह गर्दा पनि नभएपछि बाध्य भएर प्रधानमन्त्री र सरोकारवाला मन्त्रालयलाई पत्राचार गरेका छांै।’ –विभाग प्रमुख श्रेष्ठले बताउनुभयो । विभागले प्रगति भइरहेको दाबी गरे पनि अहिले शून्य प्रतिशत काम भइरहेको उहाँले जानकारी दिनुभयो । कामपाले करिब एक महिनाअघि प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको थियो ।

हामी त आजित भइसकेका छांै, काम किन नगरेको भनेर जानकारी लिन खोज्यो भने उनीहरुले भन्ने गरेका छन्– ‘काम
भइरहेकै त छ नि गर्दै छौं ।’ सिसडोलका स्थानीय श्रीराम ढुंगानाले चैतबाट लकडाउन शुरु भएपछि काम नै नभएको बताउनुभयो । ‘पहिला नै पुल बनेको थियो । अहिले फोहोर फ्याँक्ने भनेर खाल्डो खनिएको छ त्योबाहेक अन्य काम भएकै छैन।’ –उहाँले भन्नुभयो ।

विभागका महानिर्देशक मणिलाल गेलालले महानगर र स्थानीयको भनाइको खण्डन गर्दै काम भइरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘वर्षामा पानी जमेर काम गर्न सकेनौं, अहिले धमाधम भइरहेको छ ।’

उहाँका अनुसार डल्लेखोलामा लिचेड पोखरीको ढलान गर्ने काम भइरहेको छ त्यो सकिनासाथ एक महिनाभित्र बन्चरेडाँडामा फोहोर विसर्जन भइसक्नेछ । दशैंअघि ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्ने अन्तिम तयारीमा रहेको उहाँको भनाइ थियो ।

उहाँले कामको प्रगतिको विषयमा जानकारी लिन साइट इन्जिनियर मनोज नकर्मीलाई सम्पर्क गर्न आग्रह गर्नुभएको थियो । तर नकर्मीलाईं पटकपटक मोबाइलमा फोन गर्दा उठाउनुभएन ।

भवन विभागले करिब १ अर्ब २५ करोड रुपियाँमा दुई परियोजना ठेक्कामा दिएको थियो । दैनिक १ हजार १ सय मेट्रिक टन र काठमाडौं महानगरपालिकाबाट मात्र दैनिक ८ सय मेट्रिक टन फोहर निस्कने गरेको छ । सिसडोलमा २०६२ सालमा २ वर्षका लागि मात्रै फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्यान्डफिल निर्माण गरिएको थियो ।

यो ल्यान्डफिललाई चार पटकसम्म विस्तार गरेर अहिलेसम्मको फोहर व्यवस्थापन गरिँदै आएको छ । सरकारले बन्चरेडाँडाडालाई दीर्घकालीनरुपमा प्रयोग गर्न १ हजार ७ सय ९२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।