पूर्वउपकुलपति दासविरुद्ध मुद्दा दायर


काठमाडौं, (नेस)

गैरकानुनीरुपमा अकूत सम्पत्ति कमाएको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

डा. दासविरुद्ध पदको दुरुपयोग गरी ७ करोड ७१ लाख १२ हजार ८ सय ६० रुपियाँ भ्रष्टाचार गरेको आरोप अख्तियारको छ । डा. दासको वैध सम्पत्ति ७ करोड ६० लाख १० हजार ४ सय ८९ रुपियाँ रहेको तर हाल उहाँको सम्पत्ति १५ करोड ३२ लाख ३ हजार देखिएको अख्तियारको दाबी छ ।

डा. दास २०५० साल असार २७ गते सेवामा प्रवेश गरेका थिए । २०७६ असार ३० गते दासको सार्वजनिक पदबाट अवकाश भएको थियो । अवैधरुपमा कमाएको सम्पत्तिलाई आफन्तको नाममा राखेको आरोप पनि अख्तियारले लगाएको छ । अख्तियारले डा. दासविरुद्ध जरिवाना तथा कैदको समेत माग गरेको छ ।

डा. दास हाल फरार भएको भनी आरोपपत्रमा उल्लेख गरिएको छ । अदालतबाट नै डा. दासविरुद्ध म्याद जारी गर्न पनि अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ । यस अघि अख्तियारले डा. दासविरुद्ध बयान लिएको थियो । डा. दास अदालतमा उपस्थित भएपछि अदालत स्वंयले बयान लिनेछ ।