महानगरपालिकामा असोज १ गतेबाट विद्युतीय प्रणालीबाट एकीकृत कर


ईश्वरराज ढकाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले असोज १ गतेबाट विद्युतीय प्रणालीबाट एकीकृत कर निर्धारण र संकलन गर्ने भएको छ । महानगरपालिकामा कर संकलनमा ठगी र चुहावट हुने गरेको गुनासो बढेपछि सोको व्यवस्थापन गर्न विद्युतीय प्रणाली लागू गरिएको कामपाले जनाएको छ ।

कामनपाले सांग्रिला इन्फोटेक कम्पनीले तयार गरेको सफ्वेयरबाट एकीकृत कर प्रणाली लागू गर्न लागेको हो । कामपाका राजस्व विभाग प्रमुख नुरनिधि न्यौपानेले असोज १ गतेदेखि ३२ वटै वडाबाट विद्युतीय प्रणालीमार्फत् कर भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले विद्युतीय कर प्रणालीका लागि सबै वडाका सचिवलाई प्रशिक्षण दिने काम भइरहेको बताउनुभयो ।

एकीकृत कर प्रणालीअन्तर्गत मालपोत, सम्पत्ति, घरजग्गा र मनोरञ्जन कर रहेका छन् । त्यस्तै दुई दर्जनभन्दा बढी शुल्क लिने व्यवस्था रहेको न्यौपानेको भनाइ छ । झण्डै ४० लाख जनसंख्या रहेको महानगरपालिकामा करिब २ लाख करदाताले मात्र कर तिर्ने गरेका छन् ।

कामनपाले अघिल्लो आर्थिक वर्षमा करिब १२ अर्ब र गत आर्थिक वर्षमा करिब ११ अर्ब रुपियाँ कर संकलन गरेको छ । न्यौपानेका अनुसार एकीकृत कर प्रणाली लागू भएपछि २ लाख रुपियाँसम्मको कर वडासचिव, ५ लाख रुपियाँसम्मको राजस्व विभागका निर्देशक, १० लाख रुपियाँसम्मको कर विभागीय प्रमुख र सोभन्दा माथिको कर भुक्तानी गर्न सचिव एवम् प्रमुख प्रशासकीय अधिकृतले अधिकार प्रत्यायोजन गरी सहसचिवको सिफारिसमा भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।

कामनपाका प्रमुख प्रशासकीय अधिकृत एवम् सचिव एकनारायण अर्यालले कर चुहावट रोक्न र महानगरपालिकालाई स्मार्ट महानगरको रूपमा विकास गर्न यो प्रणालीको शुरूवात गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘करको सबै विवरण पारदर्शी गर्न एकीकृत कर संकलन र निर्धारण प्रणाली लागू गरेका हौं ।’ सोमबार आयोजित कार्यक्रममा उहाँले कर संकलनको यथार्थ अवस्थाबारे जानकारी दिन यो प्रणाली लागू गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘व्यवस्थित गर्न केही समय लागे पनि असोज १ गतेबाट विद्युतीय प्रणालीबाट राजस्व निर्धारण र संकलन शुरू गरेका छौं ।’ उहाँका अनुसार बजेट नीति तथा कार्यक्रममा उल्लेख भएको निर्णयलाई कार्यान्वयनमा ल्याउन गर्न यो व्यवस्थाको शुरूआत गरेको हो । महानगरले करिब एक महिनाभित्र यो प्रणाली पूर्णरूपमा सञ्चालन हुने जनाएको छ ।

सबै वडामा एकै दिन लागू नभए पनि एक महिनाभित्र सबै कर विद्युतीय माध्यमबाट भुक्तानी गर्ने व्यवस्था गर्न लागेका हौं विभागीय प्रमुख न्यौपानेले बताउनुभयो । पूर्वाधार नपुगेको वडामा तत्काल पूर्वाधार विकास गरी विद्युतीय प्रणालीबाटै कर संकलन गर्न अनिवार्य व्यवस्था लागू गर्नेछौं न्यौपानेको भनाइ छ ।

कामनपालाई स्मार्ट सिटीको अवधारणाअन्तर्गत करदाता अभिलेख वर्ष घोषणा गरेकाले विद्युतीय प्रणालीबाट कर संकलन र निर्धारण शुरू गरिएको हो । प्रशासकीय अधिकृत अर्यालले कार्यनीति पारित भइसकेपछि विद्युतीय प्रणालीबाट कर संकलन शुरू गर्न लागिएको जानकारी गराउँदै यस्बाट महानगरलाई आर्थिक प्रणालीलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताउनुभयो ।

विद्युतीय प्रणाली लागू गर्ने निर्णय गरेसँगै कामनपा पहिलो स्थानीय निकायको रूपमा रहेको महानगरको दाबी छ । कामनपाका सहचिव राजेश्वर ज्ञवालीले यो प्रणाली लागू भएपछि राजस्व संकलनमा पारदर्शी हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘केही समयसम्म अप्ठ्यारो होला, लागू भइसकेपछि थप सहज हुनेछ । सफ्टवेयर निर्माण कम्पनीले एक महिनासम्म सबै वडामा प्राविधिक खटाएर सहयोग गर्ने जनाएको छ ।

विभागका निर्देशक शिव अधिकारीले सबै वडासचिवलाई तालिम दिएपछि सफ्टवेयर निर्माण कम्पनीले एक महिनासम्म निःशुल्क सेवा दिनेछ । सफ्टवेयरमा करदाताले आफ्नो करको विवरण, कर तर्ने विषय गत वर्ष तिरेको रसिदसहितको सबै विवरण पेश गरेपछि सम्बन्धित वडाले मूल्यांकन गरी कर निर्धारण गर्ने र आफंैले रसिद प्रिन्ट गरेर विद्युतीय भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ ।

सफ्टवेयर कुन करदाताले कति रकम भुक्तानी ग¥यो भन्ने विवरण सार्वजनिक हुँदैन । सबै सामग्री स्क्यानिङ गरी विद्युतीय प्रणालीबाट सम्बन्धित वडामा पठाएपछि तत्काल कर निर्धारण हुने र त्यसको आधारमा कर तिर्ने व्यवस्था छ ।

कुन महिनामा कुन वडाबाट कुन शीर्षकमा कति रकम संकलन भयो भन्ने विषयमा समेत सजिलै जानकारी हासिल गर्ने विभागीय प्रमुख न्यौपानेको भनाइ छ । कामनपाले पहिलो चरणमा वडा कार्यालयबाट दिने सेवामा यो व्यवस्था लागू गर्न लागेको हो ।

राजस्व संकलन हुने सबै विभाग, महाशाखामा यो व्यवस्था लागू गर्नेछौं, प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ । सफ्टवेयरले सबै वडावाट मालपोत कार्यालयमा लिनुपर्ने घरजग्गाका सिफारिससमेत पठाउनसक्ने व्यवस्था उल्लेख छ ।