ऐना झ्यालको पुतली बुसान फेस्टिवलमा


सुजित बिडारीद्वारा निर्देशित फिल्म ऐना झ्यालको पुतली दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिवलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ।
सोमबार भर्चुअल प्रेसमिटसँगै बुसानले यो सालको लाइनअप सार्वजनिक गर्दै नेपाली फिल्म पनि छनोट भएको जानकारी दिएको हो। सार्वजनिक लाइनअपअनुसार ऐना झ्यालको पुतली बुसानको सबैभन्दा ठँलो पुरस्कार राशि रहेको न्यु करेन्ट सेक्सनमा छानिएको हो। यो सेक्सनमा नेपालसँगै विभिन्न देशका १० फिल्म छनोट भएका छन्। कुनै पनि निर्देशकको पहिलो र दोस्रो फिल्म मात्र छनोट हुने प्रावधान रहेको न्यु करेन्ट सेक्सनमा विजेता बन्ने दुई फिल्मले ३० हजार अमेरिकी डलर (३५ लाख रुपियाँ) प्राप्त गर्नेछन्। योसँगै ऐना झ्यालको पुतली बुसानको मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म भएको छ।
यसअघि नवीन सुब्बाद्वारा निर्देशित गुडबाई काठमाडौं, न्यु करेन्टपछि सर्वाधिक पुरस्कार राशि रहेको किम जेसीओके अवार्डमा छनोट भएको थियो। किम जेसीओके अवार्डमा पनि दुई फिल्मलाई नै पुरस्कृत गरिन्छ। तर यसको रकम १० हजार अमेरिकी डलर मात्र रहेको छ। कान्स, बर्लिन, टोरन्टो, सनडान्सपछि प्रतिष्ठित मानिने बुसानको यो २५औं संस्करण हो। कोभिड–१९ को महामारीका कारण भर्चुअलरूपमा सम्पन्न हुने फेस्टिवल यो साल अक्टोबर २१ मा शुरु भएर ३० मा सकिनेछ।
लेखक÷निर्देशकका रूपमा ऐना झ्यालको पुतली फिचर फिल्मतर्फ सुजितको डेब्यु फिल्म हो। सुजितले यसअघि सावित्रीको लेखन तथा निर्देशन गरेका थिए, जुन १४ मिनेट अवधिको लघु फिल्म थियो। फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया बालिका (विद्या) को शहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ। तर, जतिचोटि उनी सपनाको नजिक पुग्छिन्, कुनै न कुनै बाधा आइपरेर भताभुंग हुन्छ। सुजितले बालिकाको पढ्ने सपनालाई ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताए। ‘ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ। तर, जति प्रयास गरे पनि निस्कन सक्दैन। हाम्रो फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ’, सुजित भन्छन्– ‘उसलाई बाहिर निस्कनु छ। तर, हरेकपटक उसको प्रयासमा केही न केही अड्चन आइरहन्छ। यसमा हामीले हाम्रो देशका महिलाको पनि प्रतिबिम्ब देख्न सक्छौं।’ विद्या र उनको ९ वर्षको भाइ (वसन्त) बीचको बालसुलभ सम्बन्ध पनि फिल्ममा मियोका रूपमा रहेको सुजितले बताए। ‘दिदीले आफ्नो सपनामा बिट मार्न लागेको देखेपछि उनलाई मद्दत गर्न भाइले गर्ने प्रयत्न फिल्मको महत्वपँर्ण हिस्सा हो। यो सम्बन्धमार्फत फिल्मले पितृसत्तात्मक सोचमा पनि बदलाव आउनुपर्ने आवश्यकतालाई इंगित गरेको छ।’ –सुजितले भने। सवा करोड हाराहारीको बजेटमा बनेको फिल्ममा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ। यसमा सिरु विष्टबाहेक अधिकांश नयाँ कलाकारले अभिनय गरेका छन्।
आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रवीण स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन्। फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन र पुष्प संगमको संगीत रहेको छ।