युनिक नेपाल लघुवित्तले शेयर निष्काशन गर्ने


काठमाडौं, (नेस)

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले प्रतिशेयर सय रुपियाँ अंकित दरको २ लाख ७० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका कार्यकारी निर्देशक डा. गोपाल दहित र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गर्नुभयो ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी १० करोड, जारी पुँजी ९ करोड, र चुक्ता पुँजी ६ करोड ३० लाख रहेको छ भने सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँड गरेपश्चात संस्थाको चुक्ता पुँजी ९ करोड हुनेछ ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था कोहलपुर, बाँकेमा केन्द्रीय कार्यालय रही बर्दिया, कैलाली, बाँके, कञ्चनपुर, दाङ र कपिलवस्तु जिल्लाभित्र ३८ वटा शाखा कार्यालयमार्फत् १ अर्ब, ७८ करोड ९८ लाख ९३ हजार रुपियाँ बचत संकलन तथा २ अर्ब ५० करोड ४३ लाख ४३ हजार रुपियाँ कर्जा प्रवाह रहेको छ । गत आवमा कम्पनीले ४ करोड ५ लाख खुद नाफा गरेको छ ।