सब–स्टेशन निर्माण शुरू


गुल्मी, (नेस)

गुल्मीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सब–स्टेशन निर्माण शुरु भएको छ । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ७ को उनाएचौरमा बन्न लागेको १३२ केभीए लाइनको लागि सबस्टेशनको निर्माण कार्य शुरु भएको हो ।

सबस्टेशनको रेसुंगा नगरपालिका प्रमुख डिल्लीराज भुसालले शिलान्यास गर्नुभएको छ । पहाडी क्षेत्रमा बितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले सब–स्टेशननिर्माण कार्य थालिएको छ । नेपाल विद्युत् प्राधिकरणको ४५ करोड रुपियाँ लागतमा विद्युत् सब–स्टेशन निर्माण शुरु भएको हो ।

सब–स्टेशनडेढ वर्षभित्र सम्पन्न गर्ने गरी सिग्मा कन–नरेन्द्र निर्माण जेभी बानेश्वर काठमाडौंले निर्माणको जिम्मा लिएको छ । केन्द्रीय प्रशारण लाइनको पहुँच पु¥याउनका लागि सब–स्टेशन निर्माण हुने भएको हो ।

कपिलवस्तुको मोतिपुरमा रहेको सब स्टेशनबाट अर्घाखाँची हुँदै गुल्मीको रेसुंगा नगरपालिकाको उनाएचौर र मुसिकोट नगरपालिकाको पौदी अमराई भएर बाग्लुङको बुर्तिबाङसम्म पुग्नेछ । प्रसारण लाइन गुल्मीमा जोडिए पनि बुटवलमा रहेको सब स्टेशनको क्षमताले काम नगरेपछि छुट्टै सब स्टेशन निर्माण थालिएको हो ।