डोटीमा सुरक्षित गर्भपतन सेवा लिने बढ्दै


विमल विष्ट, डोटी ।

डोटी जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्न थालेको पाइएको छ । सुरक्षित गर्भपतन सेवालाई नेपाल सरकारले बिसं २०५९ सालमा कानुनी मान्यता दिएसँगै अहिले जिल्लामा सुरक्षित रुपमा गर्भपतन सेवा लिने महिलाहरुको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

काुननी प्राबधान हेर्ने हो भने १२ हप्ता सम्मको गर्भ महिलाको मञ्जुरिनामा लिई सुचिकृत स्वास्थ्य संस्थामा गर्भपतन गराउन सकिने व्यवस्था गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सुर्य विष्टका अनुसार आर्थिक वर्ष बिसं २०७६÷२०७७ मा निःशुल्क सुरक्षित गर्भपतन सेवा लिने महिलाहरुको सङ्ख्या एक हजार १२७ जना रहेको छ । चालु आर्थिक वर्षको साउन महिनामा मात्र जिल्ला भरीका स्वास्थ्य संस्थाबाट कुल १७२ जना महिलाहरुले निःशुल्क रुपमा सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

त्यसैगरी साउन महिनामा मात्रै सुरक्षित गर्भपतन गराउने महिलाहरु मध्ये २ जना महिला २० वर्ष भन्दा कम उमेरका रहेको विष्टले जानकारी दिनुभयो । पछिल्लो समयमा मेडिकल तथा औषधी पसलहरुमा बिक्री हुने गर्भपतन गराउने औषधीको प्रयोग गर्नेहरु पनि धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्यांङ्कमा उल्लेख गरिएको छ ।

सहि तत्थ्यांङ्कको अभावमा यसरी मेडिकलबाट औषधी लिएकाहरुको अवस्था आकलन गर्न सकिने अवस्था नभएको स्वास्थ्य प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । डोटी जिल्लामा सुरक्षित गर्भपतन सेवा कार्यक्रम सञ्चालन गर्दै आएको संस्था सामुदायिक विकास मञ्च डोटीकी कार्यक्रम अधिकृत दिपा सिंहले गर्भपतनलाइ परिवार नियोजनको साधनको बिकल्पको रुपमा हेर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “दम्पतीको पहिलोे प्राथमिकता परिवार नियोजनको साधनमा नै हुनुपर्छ, सकेसम्म महिलाहरुले सुरक्षित गर्भपतन सेवा लिनै परे सुरक्षित र विश्वासका साथ सेवा लिनसक्ने वातावरण हुनुपर्छ, गर्भपतन सेवा अस्थायी साधनका रुपमा लिनु हुँदैन ।”

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको महामारीको त्रासका कारण कामका लागि भारत गएका धेरै जसो स्थानीय अहिले घर फर्किएका छन । घर फर्किएका स्थानीयबासी हरुले आफ्ना श्रीमतीसँग सारिरीक सम्पर्क राख्दा अस्थायी साधन प्रयोग नगर्ने गरेका कारण जिल्लामा महिलाहरुले अबाञ्छित रुपमा रहेको गर्भलाई पछि गएर गर्भपतन गर्न थालेको स्वास्थ्यकर्मीहरु बताउछन् ।

गर्भपतन सेवाले महिलाको स्वास्थ्यमा दीर्घकालिन असर गर्ने भएपनि बाध्यता तथा बिभिन्न समस्याका कारण पनि डोटेली महिलाहरु गर्भपतन गर्न बाध्य हुँने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्भपतन गराउनु भनेको आफैमा राम्रो काम त होइन, यसले महिलालाई पछि सम्म असर गर्छ तर बाध्यता परे सुरक्षित रुपमा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट गर्भपतन गर्नु राम्रो हुन्छ ।”

जिल्लामा अझै पनि पुरुषहरुले परिवार नियोजनका साधनहरुमा ध्यान नदिने गरेका तथा सारिरीक सम्पर्क राख्दा अस्थायी साधन प्रयोग गर्नु पर्छ भन्ने बानी नपरेका कारण पनि नचाहिएको गर्भ रहदा महिलाहरुले गर्भपतन गराउनु पर्ने बाध्यता आएको दिपायल सिलगढी नगरपालिकामा–४ पिपल्लाकी स्थानीय हरिना दमाईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अस्थायी साधनका विषयमा पुरुषहरुले अझै बुझन सकेका छैनन्, सामान्य सावधानी नअपनाउदा पछि समस्या हुँन्छ भन्नेकुरो पुरुषलाई बुझाउनु जरुरी भएको छ ।”

जिल्ला स्वास्थ्य कार्यालयमा मात्रै नभएर यहाँको आदर्श गाउँपालिकामा रहेको मौवानगरदह स्वास्थ्य चौकीमा पनि सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या निकै बढेको पाइएको छ । उक्त स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी यशोदा ओझाका अनुसार यस आर्थिक वर्ष २०७७÷०७८ को साउन देखि भदौ २३ गते सम्म ५३ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

सुरक्षित गर्भपतन सेवाको लागि उक्त स्वास्थ्य चौकी सुचिकृत भएसँगै गर्भपतन सेवा लिन आउनेको सङ्ख्या बढेको हो । छिमेकी सायल गाउँपालिकाबाट समेत उक्त स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा लिन आउने महिलाहरुका कारण त्यो सङ्ख्या बढेको सिनियर अनमी ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो स्वास्थ्य चौकीमा बिगतका समयमा सुरक्षित गर्भपतन सेवा लिने महिलाहरु महिनामा बढिमा दश जना सम्म हुने गर्दथे, अहिले साधन श्रोत थप भएपछि सायल गाउँपालिकाबाट पनि आउने गरेका कारण सङ्ख्या हो ।”