असोज १ गतेदेखि व्यवसायीले होटल खोल्ने

0
Shares

यमलाल भुसाल, बुटवल

कोरोना नियन्त्रण र रोकथामको लागि सरकारले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै लगे पनि होटल व्यवसाय सञ्चालन गर्ने वातावरण नबनाएको र राहत दिन नसकेको भन्दै रुपन्देहीका होटल व्यवसायीहरुले असोज १ गतेदखि व्यवसाय सञ्चालन गर्ने निर्णय गरेका छन् ।

सरकारले तत्काल होटल व्यवसाय सञ्चालन गर्ने वातावरण नबनाएको गुनासो गर्दै होटल तथा रेष्टुरेन्ट व्यसायी संघ रुपन्देहीले असोज १ गतेदेखि व्यवसाय सञ्चालन गर्ने घोषणा गरेको अध्यक्ष समुन्द्र जिसी र महासचिव माधव कुमार खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

होटल व्यसायीहरुले कोरोनाका कारण भोग्नु परेको पीडा, आर्थिक समस्या र व्यवसाय नै छोडनु परेको अवस्था हुँदा पनि व्यवसायीको पीडामा सरकारले मलम लगाउन नसकेको संघले गुनासो गरेको छ ।

संघीय सरकार ,प्रदेश सरकार, स्थानीय तह समेतमा पटक–पटक व्यसायीका समस्या र कोरोनाका कारण भोग्नु परेको आर्थिक पीडाका बारेमा जानकारी गराउँदा समेत राज्य तहबाट कुनै सुनुवाई नभएकाले सरकारी निषेधाज्ञाको पालनाको अवज्ञा गरी व्यवसाय सञ्चालन गर्न बाध्य हुन परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघद्वारा जारी विज्ञप्तिमा होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि लिइएका घरकोे लकडाउन अवधिको भाडा सहज वातावरण भएपछि क्रमिक रुपमा तिर्ने गरी वातावरण बनाइ दिन घर धनीसँग माग गरिएको छ ।

लकडाउनको समयमा केही घरधनीले भाडा छुट दिएको प्रति संघले धन्यवाद प्रकट गर्दै व्यवसायीलाई थप राहात दिन समेत घर धनीसंँग आह्वान गरिएको छ । रुपन्देहीमा होटल तथा रेष्टुरेन्ट व्यवसायमा १६ अर्ब बढीको लगानी भएको ३० हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको व्यसायमा राज्यले राहत दिन नसक्दा करिब १ सय व्यवसायीले कोरोनाका कारण पेशा नै छोडनु परेको व्यवसायीको गुनासो छ ।

स्थानीय तहबाट व्यवसायीले गरेको निर्णयमा सहयोग गरिदिन पनि माग गरिएको छ । त्यस्तै यातायात व्यवसायीले पनि असोज १ गते देखि मुलुकभर सवारी साधन सञ्चालन गर्ने निर्णयप्रति पनि संघले ऐक्यबद्धता जनाएको छ । संघमा १ हजार २ सय व्यवसायी आबद्ध रहेका छन् ।

तिलोत्तमा औद्योगिक ग्रामको शिलान्यास
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्रामको बिहीबार शिलान्यास गरिएको छ । वडा नं. १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्रामको नगर प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

रोहिणी नदी उकासको झण्डै १९ बिगाहा क्षेत्रफलमा औद्योगिक ग्राम बनाउने गरी तिलोत्तमा नगरपालिकाले काम अघि बढाएको हो । औद्योगिक ग्रामको डीपीआर तयार भइसकेको र चालू आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य हुने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

पहिलो चरणको निर्माण कार्यको लागि २ करोड ५२ लाख बजेट रहेकोमा १ करोड ९५ लाखमा निर्माण ठेक्का सम्झौता भएको छ । पहिलो चरणमा औद्योगिक ग्रामसम्म पुग्ने एप्रोज रोड, पुल, गेट, सेक्युरिटी पोष्ट, रोड मार्किङ लगायतका काम हुनेछन् । डीपीआर अनुसार रोहिणी नदी ड्राइभर्सनको काम समेत गर्ने गरी औद्योगिक ग्रामको सम्पूर्ण काम सम्पन्न हुन ५२ करोड लागत अनुमान गरिएको छ ।

नगर प्रमुख घिमिरेले तीन तहका सरकारले विनियोजन गर्ने बजेटको आधारमा औद्योगिक ग्रामको निर्माण कार्य अघि बढ्ने बताउनुभयो । औद्योगिक ग्राममा अत्यन्त कम प्रदुषण गर्ने कम्तिमा ५३ वटा साना तथा घरेलु उद्योगहरु स्थापना हुनेछन् । संघीय सरकारले ल्याएको एक पालिका ः एक औद्योगिक ग्रामको नीतिअनुसार तिलोत्तमाले औद्योगिक ग्राम निर्माणको काम अघि बढाएको हो ।

रुपन्देहीको सन्दर्भमा जग्गाको मूल्य अध्याधिक हुँदा उद्योग गर्न चाहने लाई जग्गा खरिद गरेर उद्योग स्थापना गर्न कठिन छ । बुटवल औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने ठाउँ छैन । प्रादेशिकस्तरको मोतिपुर औद्योगिक क्षेत्र स्थापना बनाउने भनिए पनि त्यसले गति लिन सकेको छैन ।

औद्योगिक ग्राममा पहुँच मार्ग, जग्गा विकास (ल्यान्ड पुलिङ), विद्युत् प्रसारण लाइन, भूमिगत र सतही ढल, औद्योगिक फोहोर व्यवस्थापन र फोहोर पानी प्रशोधन संयन्त्र, प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था लगायतका पूर्वाधारको साथै प्रदर्शनी र बिक्री कक्ष, अग्नि नियन्त्रक, चमेना गृह, पार्किङ र आराम कक्ष पनि बनाउनुपर्छ । तिलोत्तमामा निर्माण हुन थालेको औद्योगिक ग्राम निर्माण गरिने स्थान नजिकै बहुउपयोगी रोहिणी जलाशाय निर्माणको काम भइरहेको छ । यो स्थान मंगलापुरबाट झण्डै सात किलोमिटर टाढा छ ।