कर्मचारी क्वारेन्टाइनमा, बैंक बन्द


नेपाल समाचारपत्र, काठमाडौं, हेटौंडा

कर्मचारीहरु क्वारेन्टाइनमा बस्नु परेपछि मकवानपुरको थाहानगर–४, थानाबजारमा रहेको महालक्ष्मी विकास बैंक पालुङ शाखा बन्द भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि शाखा बन्द गरिएको बैंकले जनाएको छ ।
बुधबार थानाबजारको एक ७९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि महालक्ष्मी बैंक पालुङ शाखाका कर्मचारीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । बैंकका म्यानेजरलाई बज्रबाराहीस्थित अध्याय रिसोर्टको क्वारेन्टाइनमा पठाइएको छ भने कर्मचारीहरु होम क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा बस्नुपरेकाले शाखा बन्द गरिएको बैंकले सूचनामार्फत् जानकारी गराएको छ ।

व्यवसाायीद्वारा जरीवाना छुटको माग

घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले उद्योग तथा वाणिज्यतर्फका व्यवसायलाई जरिवाना तथा छुट दिने व्यवस्थाका लागि अनुरोध गरेको छ ।

बागमती प्रदेश सरकारले पर्यटन व्यवसाय नवीकरणमा जरिवाना र विलम्ब शुल्क छुट दिने निर्णयसँगै घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले पनि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई उद्योग तथा वाणिज्यतर्फका व्यवसायलाई जरिवाना तथा छुट दिने व्यवस्थाका लागि अनुरोधसहित पत्र पठाएको हो ।

कार्यालयले कोरोना भाइरसका कारण निषेधाज्ञा जारी भएपश्चात् सेवाग्राही, उद्योगी, व्यवसायीको उद्योग, व्यवसाय दर्ता÷नवीकरणलगायत हुन नसकेको जानकारी गराउँदै निषेधाज्ञाका कारण बन्द रहेका समयमा नवीकरण गर्नेुपर्ने फर्महरुले नवीकरण गर्न नपाएकाले पर्यटन व्यवसायजस्तै उद्योग र वाणिज्यतर्फका उद्योगमा पनि जरिवाना छुट गरी कार्तिक मसान्तसम्म समयसीमा तोक्न पत्रसहित अनुरोध गरेको छ ।

पर्यटन व्यवसायका लागि नवीकरण गर्दा जरिवाना छुट दिने प्रदेश राजपत्रमा सूचना प्रकाशन भएबमोजिम उद्योग र वाणिज्यतर्फ समेत उक्त व्यवस्था गर्न अनुरोध गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघले छुट गर्न र समयसीमा बढाउन अनुरोध गरेकाले सोहीअनुरुप मन्त्रालयलाई पत्र लेखिएको हो ।