बैंकहरूले ऋण लगानी बढाउनै सकेनन्


नेपाल समाचारपत्र, काठमाडौं
बैंकहरूले लगानी बढाउन सकेका छैनन् । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी प्रशस्त रहे पनि अर्थतन्त्रमा आएको शिथिलताका कारण लगानी बढाउन नसकेका हुन् ।

कोभिड–१९ को संक्रमण न्यूनीकरणका लागि भएको लकडाउन र निषेधाज्ञाका कारण आर्थिक गतिविधि शून्य प्रायः हुँदा बैंकहरूले लगानी वृद्धि गर्न सकेका छैनन् । बैंकिङ क्षेत्रमा अहिले करिब दुई सय अर्ब रुपियाँ अधिक तरलता रहेको नेपाल राष्ट्र बंैकले जनाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहँदा अहिले एक अर्को बैंकका ग्राहक खोस्ने प्रतिस्पर्धा नै चलेको छ ।

बैंकहरूबीच ऋणी खोस्ने प्रतिस्पर्धा बढेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणी खोसाखोस गर्ने अस्वस्थ प्रतिस्पर्धा नगर्न बैंकरहरूलाई निर्देशनसमेत दिइसक्नु भएको छ । बैंकरहरूबीच भएको भद्र सहमति तोडेर ऋणी खोस्ने क्रम बढ्दै गएको बैंकरले बताएका छन् ।

जसका कारण बैंकर एसोसिएसनमा त्यससम्बन्धी उजुरी बढेको बताइएको छ । पछिल्लो तथ्यांकअनुसार बैंकहरूमा अहिले ३४ खर्ब ९१ अर्ब रुपियाँ निक्षेप रहेको छ । त्यस्तै बैंकहरूले २८ खर्ब ९७ अर्ब रुपियाँ कुल ऋण लगानी रहेको छ । स्रोतका अनुसार भदौ महिनामा बैंकहरूको निक्षेप ११ अर्ब रुपियाँ र कर्जा लगानी १९ अर्ब रुपियाँ वृद्धि भए पनि बैंकमा अधिक तरलता हुँदा बैंकरहरू छट्पाटाएका छन् ।

अधिक तरलताकै कारण बैंकहरूले निक्षेप र कर्जाको ब्याजदर कटौती गरिरहेका छन् । आर्थिक गतिविधि ठप्प हुँदा व्यावसायिक क्ष्ँेत्रमा ऋण लगानी हुन सकेको छैन । पुरानो कर्जाको सावाँ ब्याज भुक्तानी नै गर्न नसक्ने बताइरहेका उद्योगी व्यापारीले थप कर्जा लिन मानेका छैनन् ।

‘अहिले काम नै ठप्प छ के गर्न ऋण लिने ?’ प्रायः सबै उद्योगी व्यवसायीको यस्तै भनाइ छ । स्थिर ब्याजदर र अर्थतन्त्र चलायमान भएको अवस्थामा अर्को महिनादेखि ऋण परिचालन गर्न सहज हुने एक बैंकरले बताए ।