बलात्कारका आरोपित पक्राउ,किशोरीको उद्धार


विनोद सिंह विष्ट,बैतडी ।

बैतडीको सिगास गाउँपालिकाकी १७ बर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

किशोरीलाई शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको छ ।

आरोपित मध्ये खडक र रामसिंह बोहरालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले जानकारी दिनुभयो । आरोपित अर्का केशवको पनि खोजी भईरहेको उहाँले बताउनुभएको छ ।

किशोरीलाई ललाईफकाई गरेर करणी भएको भएपनि कानुन अनुसार कारवाही हुने प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा १८ बर्षभन्दा कम उमेरका महिलालाई ललाई फकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानुनी कारवाही उल्लेख छ । कानुन अनुसार त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

बलात्कृत किशोरीको उद्धार

बलात्कृत किशोरीको प्रहरीले उद्धार गरेको छ । ती किशोरीलाई विद्यालयमै पढाउने शिक्षक र अहिले गाउँपालिकामा कार्यरत कर्मचारीले पटक पटक बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘हामीले यो घटनाको सुक्ष्म रुपमा अध्ययन गरिरहेका छौं । पीडित किशोरीलाई पनि बुझ्ने काम गरिरहेका छौं । यो घटनामा संलग्न भएका कसैलाई पनि छोडिदैन् ।’

पीडित किशोरीसंगै उहाँका श्रीमान र एकजना दाजु समेत सदरमुकाम पुगेका छन् । सोमबार सिगास पुगेको प्रहरीले मंगलबार किशोरीको उद्धार गरेर सदरमुकाम पुर्याएको हो । किशोरीले बिहे गरेको ६ महिनामै बच्चा जन्माएपछि उहाँमाथि बलात्कार भएको घटना बाहिर आएको हो ।

यो घटना पहिलाकै भएपनि स्थानीयस्तरमै मिलाउन प्रयास गरिएकाले ढिलो गरि बाहिर आएको किशोरीका आफन्तले जनाएका छन् ।

पीडित किशोरीलाई जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हामीले किशोरीलाई उद्धार गरेर ल्याएका छौं । यो घटनाको सुक्ष्म रुपमा अध्ययन गरेर अघि बढ्छौं ।’