अम्रिसोको निर्यातमा गिरावट


न्युज अफ नेपाल, भद्रपुर ।

झापाको पूर्वी काँकडभिट्टानाका हुदैं भारततर्फ जाने अम्रिसोको निर्यात बर्षेनी घट्दै गएको पाइएको छ । पूर्वी पहाडी जिल्लामा मुख्य नगदेवालीको रुपमा रहेको अम्रिसो पछिल्लो समय माग बढे पनि निर्यात भने कम भएको छ ।

अघिल्लो आर्थिक वर्ष ०७४/०७५ मा यो नाका हुदैं ४२ करोड २६ लाख ५६ हजार मुल्य बराबरको १३ हजार २ सय ८ मेट्रिक टन अम्रिसो निर्यात भएको थियो । तर,यो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७५/०७६ र ०७/०७७ मा पूर्वीनाकाबाट हुने अम्रिसोको निर्यातमा निक्कै कम आएको हो । आर्थिक वर्ष ०७५/०७६ मा ३७ करोड ४० लाख २ हजार रुपैयाँ मुल्य बराबरको ११ हजार १ सय ३१ मेट्रिक टन अम्रिसो निर्यात भएको थियो । आर्थिक वर्षको तुलनामा अम्रिसो निर्यात ४ करोड ८६ लाख ५४ हजार रुपैयाँ बराबरको २ हजार ७७ मेट्रिक टनले कम भएको सरकारी तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष ०७५/०७६ मा ओरालो लागेको अम्रिसोको निर्यात व्यापार गत आर्थिक वर्ष ०७६/०७७ मा समेत माथि उठ्न सकेन् । त्यो वर्ष काँकडभिट्टा नाका भएर ३४ करोड २५ लाख ८६ हजार रुपैयाँ मुल्य बराबरको १० हजार १ सय ९६ मेट्रिक टन अम्रिसो निर्यात भएको थियो ।

अघिल्लो आर्थिक वर्ष ०७४/०७५को तुलनामा ८ करोड ७० लाख रुपैयाँ वा ३ हजार १२ मेट्रिक टन तथा आर्थिक वर्ष ०७५÷०७६ को तुलनामा ३ करोड १४ लाख १६ हजार वा ९ सय ३५ मेट्रिक टनले अम्रिसोको निर्यात घटेको प्लान्ट क्वारेन्टाइन काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ् राईले बताउनुभयो । नेपालका पूर्वी पहाडी जिल्ला ताप्लेजुङ पाचथर, ईलाम र झापाका केहि तथा संखुवासभा, सिन्धुली, वनेपा, हेटौडा लमजुङ्गमा उत्पादित अम्रिसो वार्षिक रुपमा अढाईदेखि तीनलाख वण्डल भारततर्फ निर्यात हुने गरेको उहाँको भनाइ छ ।

नेपालबाट निर्यात हुने अम्रिसोले भारतको दिल्ली, बम्बै, कलकत्ता,राजस्थान, हैदरावादलगायतको बजार लिने गरेको व्यवसायीको भनाइ छ । अम्रिसोको निकासी प्रकृया कुनै झण्झटिलो नभएका कारण व्यवसायीहरुले सहजैरुपमा निर्यात गर्ने गरेको कुचो व्यवसायीहरुको भनाई छ ।

निर्यात वापत सरकारले कृषिजन्य वस्तु भएका कारण भ्याट छुट गरेको छ । निकासी वापत एक बिल बराबर १ सय १३ रुपैयाँ दस्तुर बाहेक अन्य कुनै पनि महशुल व्यवसायीले बुझाउनु नपर्ने मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताउनुभयो । अघिल्ला आर्थिक वर्षमा निर्यात बढेपनि गत आर्थिक वर्षमा कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणकालागि भन्दैं अघिल्लो वर्षको चैत ११ गते नेपाल सरकारकोे लकडाउनका कारण पनि निर्यात कम भएको उहाँको भनाई छ ।

चैत २५ गतेसम्म काँकडभिट्टा नाका भएर सामान आइरहेपनि २६ गतेदेखि भारतसँग सीमा जोडिएको नेपालको पूर्वीनाका काँकडभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बंगाल सरकारले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सवै सवारीका साधन ठप्प भएका थिए । चैत २६ देखि बैशाख २६ गतेसम्म नाका पूर्णरुपमा ठप्प भएका कारण सवै सवारी साधन बन्द भएका थिए ।

भारतका विभिन्न प्रान्तमा कोभिड १९ को संक्रमण बढेसँगै पश्चिम बंगाल सरकारले अघिल्लो वर्षकोे चैत २६ गतेदेखि पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्नै भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधनको आवतजावत शुन्य हुँदा आयात निर्यात नराम्ररी प्रभावित भएको व्यवसायीहरुको भनाई छ ।