पाल्पाका विभिन्न स्थान सिल


पाल्पा, (नेस)

समुदायस्तरमा कोरोना फैलिएपछि पाल्पा जिल्लाको तिनाउँ गाउँपालिकाको कार्यालय एक हप्तासम्म र बगनाकाली गाउँपालिकाको वडा नम्बर ७ र ८ को केही भाग अनिश्चित्कालका लागि बन्द गरिएको ती गाउँपालिकाले जनाएका छन् ।

तिनाउँ गाउँपालिकाको लामा चौपारी टोललाई सिल गरी आवत–जावत बन्द गर्ने तथा अत्यावश्यक सेवाबाहेक सबै सेवा आगामी २८ गतेसम्मका लागि बन्द गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले एक विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

तिनाउ गाउँपालिकाका अनुसार सिल गरिएको क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।

त्यस्तै बगनासकाली गाउँपालिकाले वडा ७ को देउराली, कमेरेगाउ हँुदै ७ नम्बर वडा कार्यालयसम्म नम्बर ८ को देउराली बजार, नेपानेडाँडा, वडा नम्बर ७ को कमेरे हुँदै वडा कार्यालयसम्मलाई सिल गरेको जनाएको छ ।

पछिल्लो समय पाल्पाका विभिन्न स्थानमा समुदायस्तरमै कोरोना संक्रमणको पुष्टि भएका छन् । अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना पुष्टि भएपछि आकस्मिक सेवाबाहेक जिल्ला अस्पताल पाल्पासमेत सिल गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले सोमबार थप चार जना कोरोना संक्रमित थपिएका जनाएको छ ।