स्थानीय तहको बेथिति: एउटै व्यक्तिलाई फरक कार्यमा दोहोरो जिम्मेवारी


सञ्जय कार्की, रौतहट

रौतहटको दुई स्थानीय तहमा एकै व्यक्तिले फरक कार्यको दोहोरो जिम्मेवारी बहन गर्दै आएको खुलेको छ । एकातिर प्रमुख प्रशासकीय अधिकृत र अर्कोतिर लेखा अधिकृतको फरक दुई जिम्मेवारीसहितको भूमिका निर्वाह गर्दै आएको पाइएको हो ।

गरुडा नगरपालिकाको लेखा अधिकृत रामप्रकाश साहले गत आर्थिक वर्ष यतादेखि कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको समेत जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । जिम्मेवारी दोहोरो भएसँगै साहले सुविधासमेत दोहोरो लिनुभएको बताइएको छ । दोहोरो भूमिका निर्वाह गर्दै आएका रामप्रकाश साहले भने अब एकातिरको मात्रै जिम्मेवारी बहन गर्ने बताउनुभयो ।

यस्तै गरुडा नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहलाई हाजिर हुन नदिन नगरपालिकाको प्रमुख इनु राय यादवका छोरा अनिल यादव, भतिज रामसिंह यादव लागिपरेका छन् । मेयरका छोरा अनिल यादव भने गरुडा नगरपालिकामा करारमा कार्यरत रहेका छन् । उनी आफैं मेयरको भूमिकामा रहने गरेको जनगुनासो छ ।

मन्त्रालयले भदौ १४ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाजमा खटाउने गरी सरुवा गरिदिएपछि गरुडा नगरपालिकाका मेयर इनु राय यादवले मन्त्रालयमा कार्यरत रहँदै आएका प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमलाई नै प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइदिन पत्राचार गरेका छन् ।

हाजिर रजिस्टरसमेत लुकाएपछि हाजिर गर्न पुगेका साहले हाजिर गर्न पाएनन् । मुस्ताक आलम स्थानीय तहका प्राविधिक कर्मचारी हुन् । नीति, नियम, ऐन, कानुनभन्दा पनि आफूले भनेको मान्ने प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहका प्रमुखको रोजाइमा पर्ने गरेका कारण मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीयलाई हाजिर हुनबाट वञ्चित गरिँदै आएको छ ।

उता गरुडा नगरपालिकाले ऐन नबनाइकनै नगर प्रहरी र प्राविधिक कर्मचारी करारमा भर्ना गर्न दरखास्त आह्वान गरिसकेको छ । पुराना कामको बिल भुक्तानी गर्न पनि नयाँ आउने प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहका प्रमुखले हाजिर गर्नबाट वञ्चित गर्ने गरेको पाइएको छ । गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले भने आफ्नो अन्त जान नमिल्ने भएकाले आफैं प्रमुख प्रशासकीय अधिकृत हुन पाउनुपर्ने बताउनुभयो ।

कर्मचारीको अस्तव्यस्तसँगै जनप्रतिनिहरूको बेमेलले स्थानीय तहले विकासको गति लिन सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहका जनप्रतिनिधिहरूले हाजिर गर्नबाट वञ्चित गर्न थालेपछि अवस्था जटिल बनेको हो ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय गौरका प्रमुख ईश्वरीप्रसाद ढकालले आपत्कालीन अवस्थामा फरक कार्यक्षेत्रमा जिम्मेवारी बहन गरेको बताउनुभयो । रौतहटका २ गाउँपालिकासहित १८ वटा नगरपालिका रहेको छ । अधिकांश स्थानीय तहमा इन्जिनियर, लेखाका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षाका कर्मचारी, स्थानीय तहका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।