नेपाल–भारत वाणिज्य सन्धी पुनरावोलकन गर्न जोड क्षेत्रको जोड


नेपाल समाचारपत्र, काठमाडौं

नेपाल–भारतबीचको वाणिज्य सन्धीलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल–भारत चेम्बर अफ कर्मस एन्ड इण्डष्ट्रिज (निक्की) द्वारा सोमबार आयोजित भर्चुअल कार्यक्रमका वक्ताले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा निक्कीका महासचिव आरबी रौनियारले सन् १९९६ दुई देशबीच भएको सन्धीलाई निजी क्षेत्रले समयसापेक्ष सुधार गर्न सरकारलाई पटक–पटक सुझाव दिँदै आएको भए पनि सन्धी नवीकरण गर्दा ती विषयलाई समावेश हुन नसकेको बताउनुभयो ।

‘सन् १९९६ देखि सन् २००२ सम्म नेपाली उत्पादन भारत निर्यात राम्रोसँग भएको भए पनि त्यसपछि भने क्रमशः घट्दै गएको छ । साफ्टा, डब्लुटीओको सिद्धान्तलाई नेपालले अनुमोदन गरेको छ । तर, नेपाली व्यवसायीले त्यसको अनुभूति प्राप्त गर्न सकेका छैनन् ।

तसर्थ, नेपाली उत्पादनको बजार विस्तार एवम् व्यापार घाटा न्यूनीकरणका लागि वाणिज्य सन्धीलाई पुनरावलोकन गर्न जरुरी छ ।

रौनियारले भन्नुभयो–‘नेपालबाट निर्यातभन्दा भारतबाट आयात आठ गुणा बढी छ । त्यसलाई कम गर्न निर्यात बढाउनका लागि भन्सार प्रक्रियामा सुधार, नेपाल र भारतका भन्सार कार्यालयबीचको लिंकअप, पूर्वाधारमा सुधार आवश्यक रहेका छन् ।’

पछिल्लोपटक सन् २०१५ मा वाणिज्य सन्धीको पुनरावलोकन गरिएको भए पनि निजी क्षेत्रको सुझावलाई सम्बोधन नभएको उल्लेख गर्दै उहाँले अब सन् २०२२ मा पुनरावलोकन गर्दा गम्भीर हुनुपर्ने बताउनुभयो । साथै दुई देशका उच्च अधिकारीबीच दुईपक्षीय व्यापारका विषयमा छ–छ महिना बैठक बसेर सहजीकरण गर्ने प्रावधान भए पनि त्यसो हुन नसकेको औंल्याउनुभयो ।

त्यस्तै नेपाल आयात हुने सामान नेपाली व्यवसायीले सिधैं ल्याउन पाउने व्यवस्था हुनुपर्नेमा पनि रौनियारले जोड दिनुभएको छ । उहाँले इलेक्ट्रिक कार्गो ट्रयाकिङ सिस्टमलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै गाडीबाट ढुवानी हुँदा पनि त्यो सिस्टम जडान गर्नुपर्ने तथा कलकत्ताबाट आएको सामानमा जडान गरिएको उक्त सिस्टम रक्सौलमा नै निकालिन्छ, त्यसपछि बीच बाटोमा सामान असुरक्षित हुने भएकाले नेपालको भन्सारसम्म नै त्यो सिस्टम जडान हुनुपर्ने बताउनुभयो ।

साथै नेपाली वस्तु निर्यात हुँदा हुने ढिलासुस्ती र विभिन्न कठिनाइ हटाउन जरुरी रहेको बताउँदै नेपाली गार्मेन्ट र कार्पेट कलकत्ता नपुग्दै ढिला आपूर्ति भएको भन्दै माग रद्द हुने अवस्था रहेको बताउनुभयो । फरक प्रशंगमा महासचिव रौनियारले चीनको जुनसुकै ठाउँबाट केरुङ नाकासम्म सामान ल्याउन १२ दिन लाग्छ ।

तर, गोन्जाउबाट कलकत्तासम्म ल्याउनमात्रै ३२ दिन समय लाग्ने र कलकत्ताबाट वीरगन्ज सुख्खा बन्दरगाहसम्म आउन थप समय लाग्ने गरेको बताउनुभयो ।

कार्यक्रममा निक्कीका अध्यक्ष सिर्जना राणाले कोभिड–१९ कारण नेपाल–भारतबीचको व्यापारमा असर उल्लेख गर्दै विशेषगरी पर्यटन क्षेत्र बढी प्रभावित भएको बताउनुभयो । नेपालको पर्यटन उद्योगमा भारतीय पर्यटकको योगदान उच्च रहेको भन्दै कोरोना कहरपछि पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो । निक्कीको आगामी कार्यक्रमका बारेमा उपाध्यक्ष सुनील केसी र नेपाल–भारतबीच व्यापारका विषयमा अर्का उपाध्यक्ष साईबल घोषले प्रकाश पार्नुभएको थियो ।