निजामती दिवसमा ४० जना पुरस्कृत


नेपाल समाचारपत्र, काठमाडौं

१७औं निजामती सेवा दिवसका अवसरमा निजामती कर्मचारीका साथ स्वास्थ्यकर्मीलाई पनि पुरस्कार तथा सम्मान गरिएको छ । आन्तरिक मूल्यांकनका आधारमा स्वास्थ्यकर्मी सम्मानित भएका छन् ।
कोरोना संक्रमणको शुरुआती दिनदेखि निरन्तररुपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसीयूमा नर्सिङ इन्चार्जको जिम्मेवारी सम्हाल्दै आउनुभएकी नर्स उषादेवी देवकोटाले १ लाख पुरस्कार प्राप्त गर्नुभएको छ ।

देवकोटा पुरस्कार पाउनका लागि नभई वास्तवमै आफूले पाएको शिक्षाको पूर्ण सदुपयोग गरेर बिरामीको सेवामा नै खुसी हुने नर्स भएकाले पुरस्कारको भागिदार हुनुभएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताउनुभयो । त्यसैगरी स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम विष्टलाई पनि यस वर्षको निजामती सेवा पुरस्कारबाट सम्मान गरिएको छ ।

यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती पुरस्कार पाउने ३० जनाको नाम घोषणा गरिएको छ । उत्कृष्ट पुरस्कार पाउनेहरूमा सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, जनकराज दाहाल, डिलाराम पन्थी, सुरतकुमार बम, टामलाल पाण्डे, सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा हुनुहुन्छ ।

यसैगरी निजामती पुरस्कार पाउनेहरूमा रघुराम विष्ट, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, कुवेर नेपाली, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र, डा. वीरेन्द्रकुमार मिश्र, बाबुराज अधिकारी, टीकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे हुनुहुन्छ ।

यसै गरी मञ्जुसिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य, प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयालले निजामती पुरस्कार प्राप्त गर्नुभएको संघीय मन्त्रालयद्वारा सार्वजनिक गरिएको नामावलीमा उल्लेख गरिएको छ । विगत वर्षमा निजामती कर्मचारीलाई मात्र लक्षित गरिँदै आएको यो पुरस्कारका लागि कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पनि दिने निर्णय गरेको जनाएको छ । उत्कृष्ट निजामती पुरस्कार पुरस्कारको राशी १ लाख तथा निजामती पुरस्कारको राशी ५० हजार रुपियाँ रहेको छ ।