निरमाया मरें नि सार्वजनिक


गायक नरेन्द्र बल्लभ पन्तको नयाँ गीत निरमाया मरें निको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा सुनील संगमको शब्द रचना र जुगल डंगोलको संगीत छ।

नरेन्द्रले आठ वर्षअघि आफ्नो पहिलो म्युजिक एल्बम अर्बान मुड्स बजारमा ल्याएका थिए। त्यसपछि व्यवसायमा व्यस्त रहेका कारण उनले सांगीतिक करियरलाई अगाडि बढाएनन्। सोही एल्बमको एक गीत निरमाया मरें नि अहिले पुनः रेकर्डिङ गरी भिडियोसहित सार्वजनिक गरिएको हो। यो गीतमा लोक र रक गीतको फ्युजन पाइन्छ।

सुव्रतराज आचार्यको निर्देशनमा बनेको गीतको भिडियोमा बिजु पार्की र सिर्जना जिसीको अभिनय रहेको छ भने शुभम् भुजेलको कोरियोग्राफी रहेको छ। मोडल पार्की भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइसका सहायक हुन् भने कोरियोग्राफर भुजेल बुगी उगीको टप फाइभ पार्टिसिपेन्ट हुन्। भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ।