औद्योगिक उत्पादनमा भारी ह्रास


कृष्णउदास खनाल, वीरगन्ज

उद्योग व्यवसायमा कार्यरत कर्मचारी तथा मजदूरमा कोरोना संक्रमण तथा उद्योगका उच्च तहका केही कर्मचारीको मृत्युसमेत भएपछि वीरगन्ज औद्योगिक कोरिडोरका उद्योगको उत्पादनमा भारी गिरावट आएको छ ।

करिब एक महिनादेखि अधिकांश उद्योगले उत्पादन बढाउन सकेका छैनन् । उत्पादनको मुहान नै सुकेपछि अत्यावश्यकीय वस्तु र सेवाको आपूर्ति अवरुद्ध हुनसक्ने वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताको चिन्ता छ ।

बारा–पर्सा क्षेत्रका अँैद्यागिक क्षेत्र साउने पहिलो हप्तादेखि कोरोना संक्रमणको केन्द्र बनेको छ । त्यसयता स्थानीय प्रशासनले कडाइ गरेका छन् । समुदायमा कोरोना फैलिनुमा उद्योग प्रतिष्ठान नै मुख्य स्रोत भएको बुझाइ पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको छ ।

बन्दाबन्दी खुकुलो भएकै समयमा कोरिडोरका केही उद्योगमा कार्यरत भारतीय कामदारमा संक्रमण देखिएपछि यतिबेला उद्योगमा निगरानी बढाइएको थियो । कोरिडोरका एक दर्जभन्दा बढी उद्योगका दर्जनौं कामदारमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । बन्दाबन्दीको समयमा सहजरूपमा सञ्चालन भएका उद्योगले यतिखेर निषेधाज्ञामा सकस सामना गरिरहेका छन् ।

उद्योगबाट कामदार आवतजावत गर्दा समुदायमा संक्रमण पैmलिएको भन्दै उद्योगमै आवसीय व्यवस्था मिलाएर चलाउन भनिएको छ । उद्योग सञ्चालनका लागि सरकारले तयार पारेको मापदण्डमा समेत यो उल्लेख छ ।

तर, बन्दाबन्दीको बेला यो मापदण्डमा त्यति कडाइ गरिएको थिएन । सवारीका साधन चलाउन अनुमति नपाएपछि कोरिडोरका औषधि उद्योगले उत्पादन बन्द गर्नु परेको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाले जानकारी दिनुभयो ।

नेपाल चामल तेल दाल उद्योग संघको अध्यक्षसमेत रहनुभएका गुप्ताका अनुसार कामदार र कच्चा पदार्थको आपूर्तिको समस्याले अधिकांश खाद्यान्न उद्योग अहिले क्षमताको १५ देखि २० प्रतिशतमा खुम्चिएका छन् । पशुपन्छीको दाना उत्पादनको अवस्था पनि दयनीय छ ।

बैंकले नियमित सेवा नदिँदा भुक्तानीको समस्याले तयारी माल सामानसमेत बेच्न नपाएको उद्योगीहरुको गुनासो छ । औषधि, खाद्यान्नलगायतका सबै प्रकारका उद्योगको उत्पादनमा भारी गिरावट आएको पनि यहाँका उद्योगीले बताएका छन् ।