सुन्तलाको बिरुवा बिक्रीबाट वार्षिक सातलाख आम्दानी


प्रताप बानियाँ, म्याग्दी ।

सुन्तलाको बिरुवा उत्पादन गर्दै आएका उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको फगामका एक कृषकले नर्सरीबाटै बिरुवा बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् । डेढ दशकदेखि सुन्तलाको बिरुवा उत्पादनमा सक्रिय फगामका जोगबहादुर विकले बिरुवा बेचेरै वार्षिक सातलाख रुपैयाँभन्दा बढी आम्दानी गर्नुभएको हो ।

खेतबारीमा सामान्य लगानीमा नर्सरी स्थापना गर्नुभएका विकको अहिले करिब ४ रोपनीको क्षेत्रफलमा फलफुल खेतीसँगै सुन्तलाको नर्सरी रहेको छ । पछिल्लो आधा दशकयता नर्सरीमै ग्राहकले बिरुवा खोसाखोस गर्ने थालेपछि आफू उत्साहित भएको विक बताउनुहुन्छ । उहाँको नर्सरीमा उत्पादन गरेका बिरुवा खरिद गर्न जिल्ला बाहिरबाट समेत ग्राहकहरु पुग्न थालेपछि वर्षेनी बिरुवा उत्पादन बढ्दै गैरहेको छ । कृषक विकले सुन्तलाको बिरुवा बिक्री गरेर वार्षिक सातलाख रुपैयाँ आम्दानी गरेको अनुभव सुनाउनुभयो ।

विकजस्तै फगामकी दिलमाया पुनले गतवर्ष २० हजार बिरुवा विक्री गरी नर्सरीबाटै छ लाख रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका महिलाहरू निर्वाहमुखी खेतीपाती, घरायसी काममा व्यस्त हुने भ्रमलाई चिर्दै पुनले आफ्नै बारीमा स्थापना गरेको नर्सरीबाट वार्षिक आम्दानी बढ्दै जान थालेपछि हरेक वर्ष उहाँ नर्सरी विस्तारमै केन्द्रित हुनुहुन्छ ।

छिमेकी जिल्ला बागलुङ, पर्वतबाहेक कास्की, चितवन लगायतका विभिन्न जिल्लामा समेत दानामा उत्पादित सुन्तलाका बिरुवाहरु निर्यात हुने गरेको किसानहरु बताउँछन् ।

सुन्तलाका बिरुवाको माग ह्वात्तै बढेपछि गाउँमा धेरै उत्पादन गर्ने ७ जना किसानले वर्षेनी नर्सरीको क्षेत्रफल बढाउँदै लगेका छन् । किसानले माग गरे अनुसारको बिरुवा उत्पादन गर्न नसकेपछि जिल्लाभित्रका विभिन्न नर्सरीमा ग्राहकलाई पठाउने गरिएको छ । प्रति बिरुवा ४० रुपैयाँमा नर्सरीबाटै बिक्री हुन्छ । फगाम गाउँ सुन्तला उत्पादनको हिसाबले पकेट क्षेत्र समेत मानिन्छ ।

फगामबाट गतवर्ष करिब ८ ट्रक सुन्तला निर्यात भएको थियो । बिरुवा तथा फलेको सुन्तलाबाट गाउँलेले वार्षिक करिब ७० लाखभन्दा बढी नगद गाउँमा भित्र्याउने गरेका छन् । एक केजी बिउबाट दुई हजारभन्दा बढी सुन्तलाको बिरुवा तयार गर्न सकिने कृषकहरुको भनाइ छ ।