राहतसहित बाढीग्रस्त ढोरपाटन पुगे गृहमन्त्री बादल

0
Shares

सिर्जना पन्त, बागलुङ ।

बागलुङको ढोरपाटन नगरपालिका–७ भुजीखोलाको बाढी ग्रस्त क्षेत्रमा गृहमन्त्री रामबहादुर थापा राहत सामग्री सहित पुग्नुभएको छ ।

गृहमन्त्री बादल, सोही क्षेत्रबाट निर्वाचीत प्रतिनिधीसभा सांसद देबेन्द्र पौडेल र नेकपाका केन्द्रीय सदस्य बलावती शर्मा सहितको टोली नेपाली सेनाको हेलीकप्टरमा राहत सामग्री सहित ढोरपाटन आइपुगेको ढोरपाटन नगरपालिकाका मेयर देबकुमार नेपालीले बताउनुभयो । राहातमा अति आवश्यक खाद्यन्न, त्रिपाल, टेन्ट, म्याट्रेस लगाएतका सामग्री रहेका छन् ।

बिहीबार पनि बाढी ग्रस्त क्षेत्रको स्थलगत अनुगमनको लागि उडेको गृहमन्त्री सहितको टोली मौसम प्रतिकुलताको कारण बाटोबाटै र्फकिएको थियो ।

बुधबार मध्येरातमा खोलामा आएको बाढीले बगाएका मध्ये हालसम्म १४ जनाको शव भेटिएको छ । जसमध्ये ६ जनाको मात्र पहिचान खुलेको छ भने ८ जनाको पहिचान हुन बाँकी छ । पहिचान खुल्नेमा स्थानीय केशमाया बि।क, कर बहादुर बि।क, जीवन बि।क र डल्लि बि।क, रिम कुमारी घर्ती र दिमाया पुन रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । बाढीमा ३८ जना वेपत्ता भएका छन् । बाढीले ३१ घरमा पूर्ण र ७० भन्दा बढी घरमा आशिंक क्षति बनाएको छ ।

त्यसैगरी नेपाली काँग्रेसका नेताहरुले बाढी पीडितहरुलाई राहत वितरण गरेका छन् । नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति दोर्ण कुँवर, महाधिवेसन प्रतिनिधि जीत शेरचन, नेपाली काँग्रेस तरुण विभागका केन्द्रीय सदस्य अर्जुन शेरचन र नेपाल तरुणदल बागलुङका कोषाध्यक्ष देबेन्द्र घर्तीले ढोरपाटनका बाढी पहिरो पीडितका लागि बिहीबार राहत पुर्‍याउनु भएको हो ।

उहाँहरुले बाढी पहिरोबाट पीडित बनेका ७१ परिवारलाई प्रति परिवार एक/एक बोरा चामल, दुई/दुई किलो दाल, एक/एक किलो नुन तथा एक/एक पोका तेल राहत उपलब्ध गराउनुभएको हो । घरबार बिहीन भएका ४० परिवारका लागि त्रिपाल समेत वितरण गरेका नेपाली काँग्रेस क्षेत्रीय सभापति दोर्ण कुमार कुँवरले जानकारी दिनुभयो ।

उक्त अवसरमा ५१ परिवारलाई प्रति परिवार एक÷एक हजारका दरले नगद पनि वितरण गरिएको थियो ।