डिप्लोमा तह मुनिका शैक्षिक संस्थामा भर्ना नलिने निर्णयको विरोध


न्युज अफ नेपाल, पाल्पा ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकले डिप्लोमा तह भन्दा मुनिका स्वास्थ्य शिक्षा कार्यक्रम यसै शैक्षिक सत्रबाट भर्ना नगर्ने/नगराउने निर्णय गरिएकोमा यसको विरोध गर्दै प्रधानमन्त्री समक्ष ज्ञापन पठाइएको छ ।

चिकित्सा शिक्षा आयोगको गत साउन ३० बसेको बैंठकले शैक्षिक सत्र ०७७/०७८ देखि निजी प्राविधिक शिक्षलयहरुले सी.एम.ए, अनमी, ल्याब असिसटेण्ट र आयुर्वेद सहायक जस्ता कार्यक्रमहरु सञ्चालन गर्न नपाउने निर्णय गरेपछि यहाका स्वास्थ्य सम्वन्धि संस्थाले ज्ञापन वुझाएका हुन । पाल्पा टेक्निकल इन्सिच्यूटका प्रिन्सीपल त्रिलोचन पौडेल र सिद्धार्थ इन्सिच्यूट अफ मेडिकल टेक्नोलोजीका प्रिन्सीपल बिञ्जु शाक्यद्वारा हस्ताक्षरित ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने मार्फत बुझाइएको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकले डिप्लोमा तह भन्दा मुनिका स्वास्थ्य शिक्षा कार्यक्रम यसै शैक्षिक सत्रबाट भर्ना नगर्ने/नगराउने निर्णय गरिएकोमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन भन्दा फरक निर्णय भएकोमा आपत्ति जनाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस शैक्षिक सत्र ०७७/०७८ को नविकरणका लागि सिटीईभिटिले आवश्यक दस्तुर समेत जम्मा गराइसकेको र स्वास्थ्य कार्यक्रम नविकरण सूचीमा नपर्नुले सम्बन्धन खारेजी भएको हो की भन्ने बुझिएको विज्ञप्तीमा जनाइएको छ । ‘कोभिड–१९ का कारण गत चैत्र महिनादेखि प्राविधिक संस्थाहरु निरन्तर बन्द रही संकटको अवस्थामा पुगिरहेको बेला सरकारबाट राहतको अपेक्षा गरिरहेकोमा चिकित्सा शिक्षा आयोगको निर्णयले देश भरिका संस्था र संस्थापकहरु थप मर्कामा परेका छन्, यस्तो अन्यायपूर्ण निर्णयप्रति पुनः विचार गरी निर्वाद रुपमा कार्यक्रम सञ्चालन गर्न माग गरेका छौं’ विज्ञप्तीमा भनिएको छ ।