साँगा नाकामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

नागरिकहरुको सुरक्षाका लागि उपत्यका प्रवेश गर्ने साँगा नाकामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको छ । लगातार सिमा नाकामा खटिएको सुरक्षा टोलीका दुई जनालाई कोरोनासँग मिल्ने लक्षण देखा परेसँग परिक्षण गरिएको थियो । परिक्षणका क्रममा उहाँहरुमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक एवं प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

विहिबारसम्म जिल्लामा २ सय ९४ जना ब्यक्ति संक्रमित भएका छन् । जस मध्ये १ सय ११ जना निको भएर घर फर्किसकेका छन् । विहिबार मात्रै दुई सुरक्षाकर्मी सहित ८ जना नयाँ संक्रमित थपिएका छन् । जसमा पनौती नगरपालिका घर भएका दुई महिला छन् भने धुलिखेल नगरपालिका स्थायी घर भएका चार जना छन् । यि मध्ये केहि अस्पतालमा उपचारार्थ विरामी छन् । यस अघि जिल्लामा २२ जना सुरक्षाकर्मी संक्रमित थिए । संक्रमित सुरक्षाकर्मीको संख्या २४ पुगेको छ । बनेपा नगरपालिका वडा नम्वर १३ मा १ सय ३८ जना ब्यक्तिहरु संक्रमित भएका छन् । स्पाईनल इन्जुरी अस्पतालमा मात्रै १ सय ४ जना संक्रमित भएका छन् । बनेपामा संक्रमणको दर बढिरहँदा सोहि वडा संक्रमणको केन्द्र बनेको छ ।

कोरोनाको संक्रमणले बालबालिका र जेष्ठ नागरिक प्रभावित भएका छन् । विहिबारसम्मको तथ्याङ्कमा १४ जना बालबालिकाहरु प्रभावित भएका छन् । जसमा बालक ९ जना र बालिका ६ जना छन् । जेष्ठ नागरिक ६ जना छन् । संक्रमित मध्ये धेरै पुरुष छन् भने महिलाको संख्या एक सय नाघेको छ । महिला १ सय १२ जना छन् भने पुरुष १ सय ८२ जना छन् । अपाङ्गता भएका ब्यक्ति, सुत्केरी महिला पनि संक्रमणबाट प्रभावित छन् ।

जिल्लामा जनप्रतिनिधि २, स्वास्थ्यकर्मी ६०, प्रहरी २४, कानुन ब्यवसायी १, संचारकर्मी १, कर्मचारी २, बैदैशिक रोजगारबाट फर्किएका २५, अस्पतालमा विरामी ९६, समुदायमा रहेका सर्वसाधारण ८३ जना रहेका छन् । पालिका अनुसार सबै भन्दा धेरै बनेपा नगरपालिकामा १ सय ६७ जना छन् । धुलिखेल ६८, पनौती १५, पाँचखाल ११, नमोबुद्ध ६, मण्डनदेउपुर ३, भुम्लु१४, रोशी ५, बेथान्चोक १, तेमाल २, महाभारतमा २ जना रहेका छन् । खानिखोला र चौरीदेउरालीमा अहिलेसम्म संक्रमित छैनन ।