इम्बोस्ड नम्बर अंग्रेजीमा राख्ने सर्वाेच्चको फैसला प्रति भाषाविद्हरुको आपत्ति

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

नेपाली भाषा माथि सरकारी निकायबाट सुनियोजित ढंगले आक्रमण र अतिक्रमण भएको भन्दै भाषाकर्मीहरुले सरकारको ध्यानाकर्षण गर्न विज्ञप्ती प्रकाशन गरेका छन् । संविधानले नेपाली भाषालाई सरकारी कामकाजको भाषाका रुपमा मान्यता प्रदान गरेको भए पनि त्यस विपरित सरकारी निकायले कार्य गरिरहेको भन्दै तत्काल रोक्न भाषाविद्हरुले माग गरेका हुन् ।

सरकारी निकायहरुले भाषा अतिक्रमण गरेको सन्दर्भमा पछिल्लो पटक अंग्रेजी भाषामा मात्रै राख्न लागिएको इम्बोस्ड नम्वर प्लेटको सर्वत्र विरोध हुँदाहुँदै पनि न्यायिक गरिमालाई नै धमिल्याउने ढंगले सर्बाेच्च अदालतबाट इम्बोस्ड नम्वर प्लेट नेपाली भाषामा नभई अंग्रेजी भाषामा मात्रै राख्न गरिएको फैसलाको विरोध गरिएको छ । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग किर्तिपुरमा एम.फिल तहका विद्यार्थीहरुको समुहले सर्वाेच्चको उक्त फैसला प्रति खेद प्रकट गरेको छ ।

त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग किर्तिपुरमा एम.फिल तहका विद्यार्थीहरुका संयोजक तथा दर्शनाचार्य बृषराज रेग्मी लगायतको समुहले प्रकाशन गरेको विज्ञप्तीमा नेपाली भाषाको प्रयोग, संरक्षण र प्रर्वद्धनमा सरकारी निकायहरुले गरेका निर्णय र ब्यवहार प्रति खेद ब्यक्त गरेको हो । नेपाली भाषामा प्रयोग नहुने इम्बोस्ड नम्वर प्लेटका कारण सवारी साधन दुर्घटना हुँदा वा चोरी पैठारी हुँदा निरर्थक तर्कहरु पेश गर्न सकिने तथा नेपाली भाषा प्रयोग नगर्दा थुप्रै समस्या आउने भएकाले तत्काल उत्त फैसला सच्याउन माग गरेको छ ।

अन्तराष्ट्रिय अभ्यास अनुसार पनि इम्बोस्ड नम्वर प्लेटमा शुरुमा देवनागरी लिपि र त्यसपछि मात्र रोमन लिपिको प्रयोग गर्न उपयुक्त हुने भएकाले फैसला सच्याउन माग गरिएको छ । प्रेश विज्ञप्तीमा हस्ताक्षर गर्नेहरुमा कमला रेग्मी, मुक्तिप्रसाद भण्डारी, सन्तोष कार्की, शिवराम चालिसे, तारादेवी काफ्ले, दीपक थापा, टीकादेवी पोख्रेल, लक्ष्मीप्रसाद ढकाल, डबलबहादुर साउद, हितबहादुर थापा मगर, रामकुमार प्रजापती, मणिराज दाहाल, रुकमनकुमार फुँयाल, प्रकाश प्याकुरेल, केशव भट्टराई, यशोदा राई, दीपसागर पन्त, उमेशकुमार पण्डित, कृष्णराज पुजारा, ठाकुरप्रसाद पोखरेल, आदित्यकुमारी चौधरी, इन्दिरा काफ्ले, पार्वती कट्टेल, जनार्दन नेपाल, नरेन्द्र न्यौपाने, हर्कबहादुर मगर, बलराम राई, हेमकुमारी सुवेदी, भगवती पाण्डे, कृष्णबहादुर बोहोरा, प्रकाश डल्लाकोटी, भवनाथ प्याकुरेल, हरिहर चापागाई, गायत्री भट्ट र रामगीता लामिछानेले हस्ताक्षर गरेका छन् ।