आन्दोलनमा उत्रिए निजी विद्यालयका शिक्षक, ‘तलब दिन सकिन्न’ : विद्यालय

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

भदौदेखि तलब दिन नसकिने भन्दै प्याब्सन मकवानपुरले जानकारी गराएपछि संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्याब्सनको ध्यानाकर्षण गराउँदै त्यसको विरोधमा आन्दोलन थाल्ने भएको छ ।

इस्टु जिल्ला संघर्ष समितिले प्रस्ताव गरेका आन्दोलन ढाँचालाई जिल्ला तथा नगर कमिटी सचिवालय बैठकले अनुमोदन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । भदौ २० गते विहान ८ बजे प्याब्सन कार्यालयमा तालाबन्दी, २१ गतेबाट २०७६ साल चैतसम्मको तलब निकासी नगर्ने विद्यालयको नामावली प्रत्येक दिन प्रकाशन गर्दै सेवासुबिधा निकासाका लागि ३ दिन समय दिने र त्यसो नभए सम्बन्धित विद्यालय तालाबन्दी गरिने भएको छ ।

कालोसूचीमा परेका विद्यालयमा तालाबन्दीपछि प्याब्सन अध्यक्ष तथा नगर अध्यक्षको विद्यालयमा तालाबन्दी गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरिने इस्टु जिल्ला अध्यक्ष सचिन लामाले बताउनुभयो ।

शुक्रबार बेलुकासम्मको शून्य समयमा वार्ता र छलफलका माध्यमबाट वर्तमानमा देखिएका समस्याको समाधान निकाल्न सकिने वातावरण सिर्जना गर्न प्याब्सन मकवानपुर जिल्ला र नगर कमिटीलाई आग्रह गरिएको इस्टु नगर अध्यक्ष सीएम रिमालले बताउनुभयो ।

‘हाम्रो विनम्रतालाई कमजोरी ठानी सौहाद्र्रपूर्ण वार्ता गर्ने प्रयाससमेत नगरिए शनिबार विहानदेखि इस्टु आन्दोलन अघि बढ्नेछ,’ उहाँले भन्नुभयो । आन्दोलनका क्रममा घट्ने अप्रिय घटना, भौतिक, शैक्षिक एवम् अन्य सम्पूर्ण क्षतिको जिम्मेवार प्याब्सन मकवानपुर नै हुने चेतावनी दिइएको छ ।

निजी विद्यालयका शिक्षकले तलब नपाउने निर्णय गरिएको थियो । हालसम्म जेनतेन गरेर पनि तलब खुवाइरहेको अबस्थामा भदौदेखि तलब खुवाउनै नसक्ने भएको निजी विद्यालयले जनाएका छन् । प्याब्सन मकवानपुर र हेटौंडा नगर समितिले विज्ञप्ति जारी गर्दै भदौदेखि शिक्षक तथा कर्मचारीको तलबभत्ता दिन नसक्ने बताएको हो ।

मकवानपुरका निजी विद्यालयले शिक्षक र कर्मचारीलाई तलब दिन नसक्ने उद्घोष गरेका छन् । कोरोनाका कारण विद्यालय बैशाखबाट बन्द रहेकोले भदौदेखि शिक्षक तथा कर्मचारीको तलबभत्ता दिन नसक्ने उद्घोष गरिएको हो ।

प्याब्सन मकवानपुरका कार्यबाहक अध्यक्ष बिनोद सुबेदी र प्याब्सन नगर कार्यसमिति हेटौंडा अध्यक्ष राजकुमार नहर्कीद्वारा जारी विज्ञप्तिमा वैकल्पिक शिक्षण सिकाइका माध्यमद्वारा विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिइए पनि मासिक शुल्क नउठ्दा शिक्षक र कर्मचारीलाई तलब दिन सक्ने अबस्था नभएको बताइएको छ ।

लकडाउनको अबस्थामा पनि प्रविधिका माध्यमबाट विद्यार्थीलाई पठनपाठन नरोकेका निजी विद्यालयका शिक्षकले भदौदेखि तलबभत्ता नपाउने भएका छन् । वैकल्पिक सिकाइमा सामुदायिक विद्यालयका शिक्षक र निजी विद्यालयका शिक्षक उत्तिकै लागिपरेर विद्यार्थीलाई शिक्षा प्रदान गर्न कुनै कसर बाँकी राखेका थिएनन् ।

कोरोनाका कारण नयाँ शैक्षिक सत्रको सुरुबाट विद्यालय बन्द रहे पनि वैकल्पिक शिक्षण सिकाइमार्फत् निजी विद्यालयले पठनपाठन गरिरहेको उल्लेख गर्दै विज्ञप्तिमा चैतसम्म सबै निजी विद्यालयले सबै शिक्षक र कर्मचारीको आर्थिक दायित्व चुक्ता गरिसकेको उल्लेख छ । वैशाखदेखि साउन महिनासम्म विद्यालयले व्यबहारिकरुपमा केही रकम शिक्षक र कर्मचारीलाई उपलब्ध गराएकोमा भदौदेखि दिनसक्ने अबस्था नरहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

प्याब्सन मकवानपुरले अभिभावकबाट मासिक शुल्क नउठेकाले भदौबाट शिक्षक र कर्मचारीलाई तलब दिन नसक्ने भनेकै दिन निजी विद्यालयका शिक्षकले ‘तलब नदिए पढाउन नसक्ने’ बताएका छन् ।