धानको बाला लाग्ने बेला भयो अझै मल आएन



विमल विष्ट, डोटी
जिल्लामा रासायनिक मलको अभाव लामो समयदेखि कायमै रहेको छ । यहाँका किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रासायनिक मल पाउन सकेका छैनन् । धान गोडमेल गर्ने समय सकिएर धानको बाला लाग्ने समय आउदासम्म पनि जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित बनेका छन् ।

धान, तथा तरकारीमा युरिया मल हाल्नुपर्ने भए पनि मल बितरण गर्ने निकायमा युरिया मल अभाव भएपछि जिल्लामा मलको समस्या भएको बताइएको छ । देश कोरोना भाइरसबाट आक्रान्त भएको बेला यहाँका किसान भने रासायनिक मल नपाएकोमा चिन्तित बनेका छन् । धान गोडमेल गरेर खेतमा मल हाल्ने समय पनि करिब सकिन लाग्दासमेत मल नपाएपछि यहाँका किसान चिन्तित बनेका हुन् ।

यसपटक समयमै धान रोपाइँ सकिए पनि मल अभावका कारण धानबाली खासै नसप्रिने भन्दै किसान चिन्तित बन्न थालेको दिपायल सिलगढी नगरपालिका–४ गैराका किसान रामबहादुर बिकले बताउनुभयो । उहाँले भन्नुभयो–‘रोपाइँ गर्दा पनि मल पाइन, अहिले मल हाल्ने समय घर्किदै छ मल आउने अत्तोपत्तो छैन, कसरी धान राम्रो फल्नु ?’ जिल्लामा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनीले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको यहाँका किसानको आरोप छ ।

रोपाइँ गरिएका खेतमा मल हाल्न नपाएका कारण धानबाली खासै नसप्रिएको शिखर नगरपालिका–१ कालागाढका किसान धनबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो–‘रसायनिक मल हाल्ने गरेका खेतमा अरु मल हाले खासै काम गर्दैन, हामीले मल हाल्न नपाउँदा खेतमा धान त्यत्ति राम्रो छैन ।’

अबको केही दिनभित्रमा जिल्लामा मलको आपूर्ति नगरिए बाध्य भएर आन्दोलनमा उत्रिनु पर्ने किसान बताउँछन् । उता मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनी दिपायलले कोरोनाको कहरका कारण कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपूर्ति गर्न नसकिएको दाबी गर्दै आएको छ ।

कोरोना भाइरसको कारण सबैतिर रोजगार गुम्दै गएको अवस्थामा उब्जनी क्षेत्रलाई प्रमुख प्राथमिकता दिई मल आपूर्ति गर्नुपर्ने बेलामा झन मल नपाउनु दुःखद् कुरा भएको दिपायल सिलगढी नगरपालिका–१ तिखा गाउँका स्थानीयबासी देवेन्द्र खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘कोरोनाका कारण हजारौंको रोजगारी गुमेको छ, यस्तो बेलामा उनीहरुलाई कृषि क्षेत्रमा जागरुक गराए, मल तथा बिउको सहज तरीकाले आपुर्ति गर्नु पर्ने हो तर त्यहि पनि सहज हुँदैन त के गरी खाने ।’ यो वर्ष मात्र नभइ जिल्लामा वर्षेनी किसानले सहज रुपमा मल नपाउँदा दुःख भोग्दै आएको दिपायल पिपल्लाका किसान हर्कबहादुर लुहारले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘हामीलाई वर्षेनी जिल्लामा कलको समस्या हुने गरेको छ, यो वर्ष त कोरोनाको त्रास छ, अरु वर्ष पनि सहज तरीकाले कहिल्यै पनि मल पाएनौं, हाम्रा पीडा कोही सुन्दैनन् ।’ उता, जिल्ला कृषि ज्ञान केन्द्र सिलगढी डोटीले युरिया मलको विकल्पमा कुखुराको मल पनि प्रयोग गर्न सकिने जानकारी दिएको छ । अहिले बजारमा युरिया मलको अभाव भएपछि ज्ञान केन्द्रले वैकल्पिक मललगायतका कुरामा ध्यान राखी मल प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्