सेल्फी हानौंलापछि सार्टनैको चोली


सेल्फी हानौंला, ट्युसन पढाउँछु, क्यालेन्डरजस्ता गीतका गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’ को नयाँ रोमान्टिक गीत सार्टनैको चोली म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। गीतमा अम्बिका गुरुङको शब्द रचना तथा शंकरको संगीत र स्वर रहेको छ भने महिला स्वर दीपा लामाले दिएकी छन्।

गीतको म्युजिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेका छन्। गीतको म्युजिक भिडियोमा एक समारोहमा कारणवश सहयोगी बनेका सरोजले आश्मालाई मन पराएको र प्रेम दोहोरो हुन गएको देखाइएको छ। भिडियो सुव्रत आचार्यले निर्देशन गरेका छन् भने गम्भीर विष्टको आकर्षक कोरियोग्राफी रहेको छ।

आफ्ना अघिल्ला गीतहरू जसरी नै यो गीतलाई पनि दर्शक स्रोताले अत्यधिक मन पराउने गायक तथा संगीतकार थापाको विश्वास छ। ‘सेल्फी हानौंलापछि धेरै रमाइला गीतमा काम गरियो त्योमध्ये यो एक हो। यो गीतबाट धेरै अपेक्षा गरेको छु।’ –थापाको भनाइ छ।