चालू शैक्षिकसत्रमा १ सय ५४ दिन पढाइ

14
Shares

ईश्वरराज ढकाल, काठमाडौं

पाठ्यक्रम विकास केन्द्रले विषय समितिका विज्ञसँग छलफल गरी तत्कालका लागि ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको छ । पाठ्यक्रम विकास केन्द्रले ७० प्रतिशत कोर्स पढाउने गरी हप्ताको २३ घण्टाको दरले ८ सय १६ घण्टा पढाउने गरी प्रतिवेदन तयार गरिरहेको छ ।

चालू शैक्षिक सत्रमा १ सय ५४ दिन अर्थात् ८ सय १६ घण्टा पढाउनुपर्ने भएको छ । कोभिड–१९ का कारण विद्यालय खुल्न नसकेपछि करिब ३० प्रतिशत पाठ्यवस्तु समायोजन गरी वैकल्पिक विधिबाट ८ सय १६ घण्टा पढाउनुपर्ने भएको हो ।
‘सामान्य अवस्था रहेमा विद्यालयले १ सय ९२ दिन अर्थात् १ हजार २४ घण्टाको पाठ्यभारअनुसार पढाउने व्यवस्था थियो ।

तर, कोभिडका कारण विद्यार्थीको पढाइमा समस्या आउन नदिन वैकल्पिक विधिबाट ८ सय १६ घण्टा पढाउने व्यवस्था गर्न लागेका हांै।’–पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले भन्नुभयो । चालू शैक्षिकसत्रमा ३८ दिन घटेको छ । सामान्य अवस्थामा १ सय ९२ दिन पढाउनुपर्ने व्यवस्था थियो ।

प्रवक्ता भट्टराईले शिक्षकले वैकल्पिक विधिबाट साताको ३२ घण्टा पढाउने व्यवस्था भए पनि अहिलेको अवस्थामा अनिवार्यरुपमा २३ घण्टा पढाउने र बाँकी ४ घण्टा विद्यार्थीले गृहकार्य गर्नुपर्ने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।
केन्द्रले प्रतिवेदन तयार गरी मन्त्रालयमा पेस गर्ने र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले निर्णय गरी लागू गर्नेछ ।

मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ जारी गरी ७० प्रतिशत पाठ्यवस्तु समायोजन गरी पठनपाठन गर्ने व्यवस्था गर्न लागेको हो । निर्देशिका अन्तिम चरणमा छ । निर्देशिका जारी गर्नुअघि मन्त्रालयले विज्ञसँग छलफल गरिरहेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सकभर यो महिनाभित्र निर्देशिका जारी गरी असोजबाट पठनपाठन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।

मन्त्रालयले केन्द्रलाई पाठ्यक्रम व्यवस्थापन गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार केन्द्रले सकभर यो साता प्रतिवेदन तयार गरी मन्त्री पोखरेलसमक्ष पेस गर्ने तयारी गरिरहेको छ ।

विषय समितिले आज बिहीबार केन्द्रलाई प्रतिवेदन बुझाउने र केन्द्रले यो साताभित्र मन्त्रालयमा पेस गर्ने तयारी भइरहेको केन्द्रका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

विद्यालय खुल्न नसक्दा ६ महिनादेखि पठनपाठन हुन सकेको छैन । तर निजी विद्यालयले वैशाखदेखि नै पढाइ सुचारु गरिरहेका छन् । विशेष गरी सामुदायिक र केही निजी विद्यालयलाई लक्षित गरी ल्याउने लागेको निर्देशिकाले पढाउने र विद्यार्थीसँग मासिक शुल्क लिने बाटो खुल्नेछ ।

शिक्षा विभागका महानिर्देशक डा. तुलसी थपलियाले निर्देशिका जारी भएपछि वैकल्पिक विधिबाट पढाइ शुरु हुने बताउनुभयो । उहाँले त्यसअघि विद्यार्थीको अभिलेखीकरण गर्ने शिक्षक परिचालन गरी आफ्ना विद्यार्थी पहिचान गरी वैकल्पिक माध्यमबाट हुने पढाइमा सहभागी जनाउने विषयमा गृहकार्य गर्ने बताउनुभयो ।

स्थानीय निकायमार्फत विद्यालयका शिक्षक परिचालन गरी विद्यार्थीको तथ्यांक संकलन गर्नुपर्ने बताउँदै भन्नुभयो– ‘हालसम्म सम्पर्क नभएका विद्यार्थीलाई सहभागी गराउनका लागि शिक्षक, स्थानीय निकाय र केही पालिकाले खटाएको स्वयंसेवकले मध्यस्तता गर्नुपर्छ ।’

कक्षा सञ्चालन भएपछि त्यसको अनुगमन, मूल्यांकन र निरन्तरताको विषयमा स्थानीय तहले मुख्य भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढाइ सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशन दिने तयारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता शर्माले निर्देशिका जारी भएलगत्तै पढाइ शुरु हुने भएकाले त्यसअघि विद्यालयका प्रधानाध्यापकले तत्कालका लागि कक्षा सञ्चालन तालिका बनाउनुपर्ने बताउनुभयो ।

तालिका बनाएर कक्षा सञ्चालन गर्दा त्यसको प्रभावकारिता हुने बताउँदै उहाँले भन्नुभयो– ‘अब सबै विद्यालयका प्रअ, स्थानीय तहले प्रक्रिया थाल्नु जरुरी छ ।’