एक साता लम्बियो निषेधाज्ञा, केही स्वरुपमा परिवर्तन


सुनील महर्जन, काठमाडौं

हालसम्म कायम निषेधाज्ञाको स्वरुपमा केही परिवर्तन गरी यही भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ ।

गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । निषेधाज्ञा थप गरिएको यो तेस्रोपटक हो । भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ ।
निषेधाज्ञाको समयावधि एक साता लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

उपत्यकाका स्थानीय तहका प्रमुखहरुले निषेधाज्ञामा कडाइ गर्नुपर्ने र उद्यमी व्यवसायीहरुले निषेधाज्ञाको विकल्प खोज्नुपर्ने सुझाव दिएपछि प्रमुख जिल्ला अधिकारीहरुले मध्यमार्गी उपाय अपनाएका हुन् ।

संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ ।

थप गरिएको निषेधाज्ञा अवधिमा आइसोलेसन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेस्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ । दुई साता लामो निषेधाज्ञापछि उपत्यकामा कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ भएको उपत्यकाका तीन प्रजिअको निष्कर्ष छ ।

निरन्तर दुई साता लामो निषेधाज्ञापछि तेस्रोपटक थपिएको समयसीमामा निर्माण सामग्री ढुवानी र होटल, रेस्टुरेन्टको ‘टेक अवे’ सेवालाई भने खुला गरिएको बताइएको छ । अब, भन्सार तिरेका गाडी र मोटरसाइकल पनि काठमाडौं उपत्यकामा ल्याउन छुट गरिएको छ । स्वास्थ्य मापदण्ड पूरा गरेर कारखानाभित्रै मजदुर राख्ने गरी उद्योगधन्दा सञ्चालन गर्न पाउने निर्णय गरिएको छ ।

यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । औषधी, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि
पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी बिहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो ।

होटल, रेस्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंकलगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

१० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । जुन बुधबार मध्यरातिबाट सकिँदै छ । यसअघि उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा कफ्र्यु लगाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

बुधबार भएको उपत्यका फोरमको भर्चुअल बैठकले उपत्यकाको तीन जिल्लामा निषेधाज्ञाले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने देखिएकाले कफ्र्युसम्म गर्नुपर्ने निष्कर्ष सुझाव दिएको थियो ।

यसका लागि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सुझावसमेत दिएको उपत्यका नगरपालिका फोरमका सचिव मध्यपुर नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।